मूल्यवृद्धि ३.१० प्रतिशतमा सीमित, घ्यूतेल र माछामासुमा भने उच्च मूल्यवृद्धि
चालू आर्थिक वर्षको चैतसम्ममा मूल्यवृद्धि ३.१० प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र ब्यांकले जनाएको छ।
राष्ट्र ब्यांकले बुधबार तथ्यांक सार्वजनिक गर्दै वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीतिको वृद्धिदर सामान्य रहेको जनाएको हो। गत आर्थिक वर्षको यही अवधिमा भने मूल्यवृद्धि ६.७४ प्रतिशत थियो।
चैतसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.४९ प्रतिशत रहेको राष्ट्र ब्यांकले जनाएको छ। यसमध्ये घ्यू तथा तेलको मूल्य अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै २१.३८ प्रतिशतले बढेको छ। माछामासुको मूल्य १२.६१ प्रतिशतले बढेको छ। दाल र गेडागुडीको मूल्य ८.८४ प्रतिशतले बढेको छ।
राष्ट्र ब्यांकका अनुसार, चैतसम्ममा तरकारीको मूल्य अघिल्लो वर्षको तुलनामा ११.६७ प्रतिशतले घटेको छ। त्यस्तै, मसलाको मूल्य ८.४६ प्रतिशत र फलफूलको मूल्य १.९७ प्रतिशतले घटेको छ।
गैरखाद्य समूहमा सबैभन्दा धेरै यातायातको मूल्य ८.७७ प्रतिशतले बढेको छ। लत्ताकपडा र जुत्ताको मूल्य अघिल्लो वर्षको तुलनामा २.८२ प्रतिशतले बढेको छ।