महामारीबीच पनि रेमिटेन्स १६.५ प्रतिशतले बढ्यो, वैदेशिक व्यापारमा घाटा बढ्दै
कोरोनाभाइरसको महामारीबीच पनि वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रकम रेमिटेन्समा उत्साहजनक वृद्धि देखिएको छ। चालू आर्थिक वर्षको चैतसम्ममा रेमिटेन्स १६.५ प्रतिशतले बढेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
राष्ट्र ब्यांकका अनुसार, चैतसम्ममा रू.७ खर्ब २९ अर्ब रेमिटेन्स भित्रिएको छ। अमेरिकी डलरमा पनि रेमिटेन्स १३ प्रतिशतले बढी भित्रिएको छ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आए पनि रेमिटेन्स रकममा भने लगातार वृद्धि देखिइरहेको छ। चैतसम्ममा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ। यो अवधिमा ६४ हजार चार सय ७५ नेपालीले मात्र पहिलो पटक वैदेशिक रोजगारीमा जान अनुमति लिएका छन्।
देशले वैदेशिक व्यापारमा खेपिरहेको ठूलो घाटा पूर्ति गर्न रेमिटेन्सले भरथेग गरिरहेको देखिएको छ। यो वर्षको चैतसम्ममा नेपालले वैदेशिक व्यापारमा रू.१० खर्ब १६ अर्ब ६३ करोड घाटा व्यहोरेको छ। जुन अघिल्लो वर्षको यही अवधिकाे तुलनामा १२.५ प्रतिशत धेरै हो।
आयात क्रमशः बढ्दै गएपछि नेपालको व्यापार घाटा फेरि बढेको हो। चैतसम्ममा नेपालले रू.९४ अर्ब ७७ करोडको वस्तु निर्यात गरेको छ भने रू.११ खर्ब ११ अर्ब ४० करोडको वस्तु आयात गरेको छ।
आयात बढ्दै गएका कारण नेपालको चालू खाता घाटा रू.२ खर्ब ७ अर्ब पुगेको छ। यो अघिल्लो वर्षको यही अवधिमा रू.१ खर्ब २६ अर्बमा सीमित थियो। यद्यपि, यो अवधिमा शोधनान्तर स्थिति भने ४२ अर्ब ५४ करोडले बचतमा छ।
रेमिटेन्स भित्रिएकै कारण नेपालको वैदेशिक मुद्राको भण्डार सजिलो अवस्थामा छ। चैतसम्ममा नेपालसँग रू.१४ खर्ब ३३ अर्ब बराबरको वैदेशिक मुद्राको सञ्चिति छ। यो गत असारको तुलनामा २२ प्रतिशत धेरै हो।