गोल्छा ग्रुपद्वारा पाटन अस्पताललाई एक करोड सहयोग
कोरोनाभाइरससँग जुध्न गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई एक करोड रुपैयाँ सहयोग गरेको हो।
गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई एक करोड सहयोग हस्तान्तरण गरेका छन्। कोरोनाको दोस्रो लहरमा संक्रमितको उपचारमा सहज होस् भनेर अस्पताललाई सहयोग गरिएको गोल्छा ग्रुपले जनाएको छ।
सहयोग हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले पाटन अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए। सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा नयाँ थालनी गरिएको बताउँदै उनले भने, “हामीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेका छौं र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिनेछौं।”
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गोंगलले गोल्छा ग्रुपको सहयोग समयसापेक्ष भएको बताए। “यो सहयोगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढाउनेछ,” उनले भने।
यो सहयोगबाट अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरूद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने शय्याको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने जनाएको छ।