अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आइसक्यो : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोबल कोरोनाभाइरस (कोभिड–१९) संक्रमितका लागि अस्पतालमा शय्या नपुग्ने अवस्था आइसकेको जनाएको छ।
मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा संक्रमण दर डरलाग्दो गरी बढेको मन्त्रालयको निष्कर्ष छ।
“स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पताल राखेर हेरचाह गर्न अस्पतालका शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ,” मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “त्यसैले सबै दाजुभाइ दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ।”
मन्त्रालयले कुनै पनि मार्गबाट देश–विदेश जाने–आउने वा आन्तरिक–बाह्य पर्यटनका लागि कहीँकतै जाने कामहरू पूर्ण रूपमा बन्द गराउन जरुरी रहेको उल्लेख गरेको छ।