एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दुई घण्टा छलफल
पार्टीमा अन्तरविरोध चर्किरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ।
बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा उनीहरूले पार्टीको आन्तरिक विवादबारे कुराकानी गरेका हुन्।
छलफलबाट बाहिरिँदै गर्दा वरिष्ठ नेता नेपालले तत्काल कुनै प्रतिक्रिया नदिने बताए। उनले भने, “साथीहरूसँग छलफल गरेपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्छु।”
दुई नेताबीचको छलफलमा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले २७ संघीय र कर्णालीका ५ सांसदलाई स्पष्टीकरण सोधेको भोलिपल्ट उनीहरूले छलफल गरेका हुन्।