वायुको गुणस्तरमा उल्लेख्य सुधार
काठमाडौं लगायत देशका अधिकांश स्थानको वायुको गुणस्तरमा सुधार आएको छ। वातावरण विभागले आइतबार अपराह्न ४ बजे भैंसेपाटी, भक्तपुर, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पोखरा, विराटनगर, जनकपुर, दमक, झुम्का र रारा लगायत स्थानमा वायुको गुणस्तर सूचक (एक्यूवाई) हरियो संकेतमा देखाएको छ।
वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी वायुको गुणस्तर राम्रो हुँदा हरियो रङ देखाउने गरिएको बताउँछन्। उनी भन्छन्, “आजको एक्यूवाईले वायुको गुणस्तरमा उल्लेख्य सुधार भएको देखाउँछ।”
विभागका अनुसार, धनकुटा, भरतपुर, हेटौंडा लगायतका स्थानको हावा मध्यम स्तरको छ। दाङ र धनगढीको वायुको गुणस्तर भने जोखिम समूहका लागि अझै पनि अस्वस्थकर रहेको जानकारहरू बताउँछन्।
वायुको गुणस्तरबारे जानकारी दिने कम्पनी आईक्युएअरले काठमाडौं उपत्यकाको वायुलाई मध्यम स्तरको भनेको छ। आईक्युएअरका अनुसार, प्रदूषण तहमा विश्वका शहरहरूमध्ये काठमाडौं ३१औं स्थानमा छ। यसअघि नेपाल प्रायः पहिलो वा दोस्रो स्थानमा रहँदै आएको थियो।
जलवायु विश्लेषक ङमिन्द्र दाहाल हावाहुरी, झरी र घाम लागेकाले वायुको गुणस्तरमा सुधार आएको बताउँछन्। दाहाल भन्छन्, “विज्ञले मात्रै होइन, सर्वसाधारणले नै थाहा पाउने गरी वायुको गुणस्तरमा सुधार आएको छ, दुई दिन पहिले जस्तो आँखा पिरो भएको छैन।”
काठमाडौंको वायुको अवस्था झन्डै झरी परेको बेलाको जस्तो अवस्थामा पुगेको विभागका प्रवक्ता जोशी भन्छन्। उनी भन्छन्, “अहिलेको वायुको गुणस्तर झन्डै भदौ–असोजको जस्तो छ।”
वातावरणविद् भूषण तुलाधर मध्यम स्तरको वायुलाई पनि राम्रो मान्नुपर्ने बताउँछन्। “अधिक प्रदूषणको तुलनामा मध्यम स्तरको वायुलाई पनि सन्तोषजनक मान्नुपर्ने अवस्था छ,” तुलाधर भन्छन्।