सरकारसँग वार्ता गर्न थारू कल्याणकारिणी सभाले बनायो पाँच सदस्यीय टोली
सरकारसँग वार्ता गर्न थारु कल्याणकारिणी सभा (थाकस)ले पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ।
टोलीमा सांसद पद्मनारायण चौधरी, पूर्वसांसद रुक्मिणी चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरी सदस्य रहेका छन्।
थारू कल्याणकारिणी सभा, थरूहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले सरकार समक्ष १९ बुँदे माग राखेका छन्। उनीहरूका माग सम्बोधन गर्न सरकारले वार्ताका लागि आह्वान गरेको थियो।
त्यही अनुसार, थाकसले वार्ता टोली गठन गरेको हो। टोलीमा थाकस, संयुक्त संघर्ष समितिको प्रतिनिधित्व रहेको वार्ता टोलीकी सहसंयोजक रुक्मिणी चौधरीले जानकारी दिइन्।
सरकारले यसअघि नै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य रहेको वार्ता टोली गठन गरिसकेको छ।