राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त, यसै साता नियुक्तिको तयारी
वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र ब्यांकमा दुबै डेपुटी गभर्नर पद रिक्त हुँदै छन्। डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल १८ फागुनमा पूरा हुन लागेकाले बुधबारबाट यी दुबै पद रिक्त हुनेछन्।
डेपुटी गभर्नर पद रिक्त हुनलागेसँगै अबको डेपुटी गभर्नर को बन्लान् भन्ने अड्कलबाजी शुरू भएको छ। राष्ट्र ब्यांकका गभर्नरको सिफारिशमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने कानूनी प्रावधान छ।
गभर्नरको सिफारिश अनुसारको नाम अर्थमन्त्रीले मन्त्रिपरिषद्मा लैजान्छन्। कानून अनुसार, राष्ट्र ब्यांकका कार्यकारी निर्देशकहरू मात्र डेपुटी गभर्नरका लागि योग्य हुन्छन्। डेपुटी गभर्नर भविष्यको गभर्नर पदका लागि दाबेदार मानिन्छन्।
राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन्। डेपुटी गभर्नरका लागि १७ जना नै प्रतिस्पर्धी भए पनि मन्त्रिपरिषद्ले नियुक्त गर्ने राजनीतिक पद भएकाले सत्ता निकट व्यक्ति डेपुटी गभर्नर हुने सम्भावना रहन्छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आयु सकिने चर्चा चलिरहेको बेला डेपुटी गभर्नरको नियुक्ति वर्तमान सरकारले नै गर्ने निश्चितप्रायः छ। २३ फागुनमा संसद्को बैठक बस्नुअघि नै डेपुटी गभर्नर नियुक्तिको सम्भावना छ।
प्रधानमन्त्री ओलीको आशय अनुसार अर्थमन्त्री विष्णु पौडेल डेपुटी गभर्नरको नियुक्तिलाई पर तन्काउने पक्षमा नरहेको स्रोत बताउँछ। केही दिनभित्रै डेपुटी गभर्नरको नियुक्ति गर्ने तयारी छ।
अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर पदमा स्वाभाविक रूपमा प्रधानमन्त्री ओलीको इच्छाअनुसारको नियुक्ति हुने आन्तरिक कुराकानीमा बताउने गरेका छन्। यसको अर्थ, डेपुटी गभर्नरको नियुक्तिमा अर्थमन्त्री पौडेल र राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीको ठूलो भूमिका हुने छैन।
प्रधानमन्त्री ओली र उनी निकट नेतासँग नजिकको सम्बन्ध भएका कार्यकारी निर्देशक डेपुटी गभर्नर नियुक्त हुने आकलन छ। त्यस्तो आकलनको पहिलो नम्बरमा डा. प्रकाशकुमार श्रेष्ठ छन्। डा. श्रेष्ठ अहिले अर्थमन्त्रीको आर्थिक सल्लाहकारको भूमिकामा छन्।
अर्थमन्त्री पौडेल तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको समर्थन पाएका श्रेष्ठ आफैंमा राष्ट्र ब्यांकभित्रका काबिल कार्यकारी निर्देशक मानिन्छन्। श्रेष्ठले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट अर्का बलिया प्रतिस्पर्धी मानिएका छन्। अमेरिकाबाटै अर्थशास्त्रमा विद्यावारिधि गरेका काबिल अर्थशास्त्री भट्ट अहिले राष्ट्र ब्यांकको अनुसन्धान विभाग प्रमुख छन्। यद्यपि, भट्ट नेपाली कांग्रेस निकट मानिन्छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा भट्ट डेपुटी गभर्नर बन्नसक्ने आकलन गरिएको छ।
सुदूरपश्चिमका भट्टलाई क्षेत्रीय सम्बन्धका हिसाबले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पनि सहयाेग रहेकाे छ। यसअघि संवैधानिक नियुक्तिमा समेत प्रधानमन्त्री ओलीले देउवा निकट व्यक्तिहरूलाई समेटेका थिए। राजनीतिक दाउपेचमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीप्रति लचिलाे भूमिका निर्वाह गरिरहेको आरोप लाग्दै आएको छ।
प्रधानमन्त्री ओलीले भविष्यको राजनीतिक साझेदारीका लागि कांग्रेस सभापति देउवाको सिफारिशमा भट्टलाई नियुक्ति दिनसक्ने सम्भावना रहेकाे स्राेतले जनाएकाे छ। “तर, बूढानीलकण्ठ (शेरबहादुर देउवा) ले कति गम्भीर ढंगले भट्टका पक्षमा अडान लिन्छ भन्ने कुराले उनको नियुक्तिको निर्धारण हुन्छ,” स्रोत भन्छ।
त्यस्तै कार्यकारी निर्देशक डा. निलम ढुंगाना पनि डेपुटी गभर्नर पदका लागि बलियो दाबेदार रहेको मानिएको छ। ढुंगानाको नियुक्तिको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी रहेको स्रोत बताउँछ। तर, प्रधानमन्त्री ओलीको निर्णय अन्तिम हुने भएकाले अनुमान गरिएभन्दा बाहिरका व्यक्तिहरू समेत डेपुटी गभर्नर हुने सम्भावना छ।