रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’ आउँदै
![रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’ आउँदै](https://www.himalkhabar.com/uploads/posts/800X600/RAJNITI_SANGAI_RAJKAJ_3D_1614308503.png)
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘राजनीतिसँगै राजकाज’ आउन लागेको छ।
फाइनप्रिन्टले प्रकाशन गर्न लागेको पुस्तकमा मिश्रले ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाएका छन्। त्यसकै सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ वटा निबन्धहरू यस पुस्तकमा समेटिएको फाइनप्रिन्टले जनाएको छ।
रवीन्द्र मिश्र।पुस्तकबारे टिप्पणी गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने पुस्तक’ भनेका छन्। ‘‘पुस्तकको मूल निबन्ध ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ–राजनीतिक दस्तावेज पनि हो,’’ डा. वाग्लेले लेखेका छन्।
लेखक मिश्रले रूपान्तरणकारी नेतृत्वका गुणहरूको महत्त्वमाथि विशेष जोड दिएको बताएका छन्। उनी भन्छन्, ‘‘हामीले राजनीति धेरै गर्यौं। तर, राजकाजमा सधैं चुक्यौं। नेतृत्वका पञ्च गुण- इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिमा सन्तुलन नभएसम्म संसारका कुनै पनि नेतृत्व रूपान्तरणकारी हुन नसक्ने रहेछन्।’’
यो मिश्रको चौथो पुस्तक हो। यो पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने प्रकाशक फाइनप्रिन्टले जनाएको छ।
यसअघि प्रकाशित तीन वटा पुस्तकको लेखकस्व उनले शुरूदेखि नै चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आएका छन्।
यो पुस्तक फागुन अन्तिम साता बजारमा आउने प्रकाशक फाइनप्रिन्टले जनाएको छ।