तत्काल उपत्यका नछाड्न सांसदहरूलाई नेकपाको निर्देशन
नेकपा (दाहाल-नेपाल) समूहले आफ्ना सांसदहरूलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।
नेकपा संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र बैठक बोलाउन आदेशसमेत दिएकाले यो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी दिएका थिए। त्यसैले तत्काल उपत्यका नछाड्न सांसदहरूलाई निर्देशन पनि दिएका छन्।
अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्ने भएकाले उपत्यकामा रहेका सांसदलाई अत्यावश्यक कार्यबाहेक बाहिर नजान निर्देशन दिएको नेत्री रामकुमारी झाँक्रीले बताएन्। अत्यावश्यक काम परे जानकारी गराएर मात्रै जान निर्देशन दिएकाे उनले बताइन्।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। दाहाल र नेपालले संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई धन्यवाद समेत दिएका छन्।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। यसविरुद्ध परेका विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ११ फागुनमा सरकारको कदमलाई असंवैधानिक ठहर गरेको हो।
सर्वोच्चको यो फैसलासँग प्रतिनिधि सभा पुनःस्थापना भएको छ। अब २४ फागुनभित्र संसद् बैठक बोलाउनुपर्नेछ।
यसका लागि राजनीतिक दलहरू तयारीमा जुटेका छन्। १२ फागुनमा नेकपा (दाहाल–नेपाल) समूहले संसदीय दलको बैठक राखेको थियो भने नेकपा (ओली) समूहले स्थायी कमिटी बैठक राखेको थियो।
त्यस्तै, दाहाल–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर छलफल समेत गरेका छन्। उनीहरू देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए।
यससँगै सबै दलहरू आ-आफ्नो तयारीमा जुटेका छन्।