प्रहरीको कुटाइबाट १३ वर्षीय बालकको मृत्यु, दोषीलाई कानूनी दायरमा ल्याउन आयोग आग्रह
प्रहरीको कुटाइबाट जुम्लामा १३ वर्षीय बालकको मृत्यु भएको जनाउँदै दोषीलाई कानूनी दायरमा ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ।
जुम्लाको गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको उपचारका क्रममा ५ फागुनमा मृत्यु भएको थियो। उनको मृत्युपछि स्थानीय बासिन्दा आन्दोलित छन् भने दोषीलाई कारबाही गर्न माग गरिरहेका छन्। परिवारजनले अझै बालकको शव बुझेका छैनन्। प्रहरीको कुटाइबाट मृत्यु भएको परिवारजनको भनाइ छ।
मानवअधिकार आयोगको सुर्खेत कार्यालयले गरेको अनुगमनमा पनि प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको बुझिएको जनाएको छ। पदमसहित सात जनालाई मोबाइल चोरीको आरोपमा प्रहरीले १८ माघमा पक्राउ गरेको थियो।
उनीहरूलाई सोधपुछका क्रममा पाइपले कुटपीट गरेको पाइएको आयोगले जनाएको छ। उनीहरूलाई कुटपिट गरेर त्यही दिन छोडिएको थियो।
कुटपीटका कारण पदमको भने बायाँ खुट्टाको पिँडौला र पाइतालामा नीलडाम परेको तथा खुट्टा सुन्निएको पाइएको छ। उनको उपचारकै क्रममा ५ फागुनमा मृत्यु भएको अनुगमनको क्रममा बुझिएको आयोगले जनाएको छ।
आयोगले प्रेस विज्ञप्ति जारी गरी जुम्लाको घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याई परिवारलाई उचित क्षतिपूर्ति दिन आग्रह गरेको छ। आयोगले जुम्ला घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आईसीयूमा रहेको शव उपयुक्त स्थानमा व्यवस्थापन गर्न, विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन तथा पीडित परिवारको संरक्षण र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले उक्त घटनाको अनुगमन गरेको जनाइएको छ। आयोगको अनुगमन टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगी आईसीयूमा राखिएको शवको अवलोकन गर्नुका साथै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकसँग घटनाबारे जानकारी लिएको जनाइएको छ।
आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले विशेषज्ञ चिकित्सकबाट यथाशीघ्र शव परीक्षण गराउन जिल्ला प्रहरी कार्यालयलाई तथा मृत्यु भएको दुई दिन भइसक्दासमेत बालकको शव आईसीयूमा नै रहेको पाइएकाले तत्कालै उपयुक्त स्थानमा शव व्यवस्थापन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्राचार गरेको छ।