ओली समूहकाे जनसभामा १६ ठाउँबाट जुलुस आउने
नेकपा (ओली) समूहले आज नारायणहिटी दरबारअगाडि आयोजना गर्न लागेको जनसभाका लागि तयारी शुरु गरेको छ। केहीबेरमा काठमाडाैंका विभिन्न स्थानबाट जुलुस निस्कने भएकाे छ।
आज दिउसो १२ बजे नारायणहिटीमा जनसभा आयोजना गर्न लागिएको हो। काठमाडौंका १६ स्थानबाट जुलुस निस्कने आयोजक बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए।
नेकपा बागमती प्रदेश कमिटीका अनुसार बागबजारबाट सम्पर्क मञ्च, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन र महेन्द्र सालिकबाट जनजाति महासंघका घटक संगठनको जुलुस निस्कनेछ। त्यस्तै, घन्टाघरबाट मुस्लिम समुदाय, सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीको, त्रिपुरेश्वरबाट चितवन र धादिङका सहभागी आउनेछन्।
यस्तै, गौशालाबाट भक्तपुर, माइतीघर मण्डल क्षेत्रबाट दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट सहभागी हुनेको जुलुस आउनेछ। पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट र रसुवा, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर र भीमफेदीका सहभागीहरुको जुलुस निस्कनेछ।
यसैगरि टेकुबाट काठमाडौंको निर्वाचन क्षेत्र नं. ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नं. ८, सोह्रखुट्टेबाट निर्वाचन क्षेत्र नं. ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नं. ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नं. १ र २ का सहभागीहरुको जुलुस आउने अध्यक्ष पोखरेलले बताए।
दिउसो १२ बजे आयोजना हुने जनसभालाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसलाई नेकपाले शक्ति प्रदर्शन भनेको छ।