ट्विटरले स्थायीरुपमा नै बन्द गरिदियो ट्रम्पको एकाउन्ट
ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट स्थायीरुपमा नै बन्द गरिदिएको छ।
ट्रम्पका ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट सधैका लागि बन्द गरेको घोषणा गरेको हो। ट्वीटरले भनेको छ, “राष्ट्रपति ट्रम्पका हालैका ट्विटहरुलाई गहनपूर्वक समीक्षा गरियो र अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो।”
गएको बुधबार अमेरिकी संसद भवनमा उनका समर्थकले हिंसा मच्चाएपछि उनले समर्थनमा ट्विट गरेका कारण १२ घन्टाका लागि एकाउन्ट बन्द गरिएको थियो। उनले उक्त घटनापछि आफ्ना समर्थकलाई ‘देशभक्त’ भन्दै ट्विट गरेका थिए।
अकाउन्ट स्थायीरुपमै बन्द हुनुअघि ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नजाने ट्विटमार्फत जनाएका थिए। त्यसको केही समयपछि नै ट्विटरले उनको एकाउन्ट स्थायीरुपमा बन्द गरिदिएको हो।
बिहीबार फेसबुकले पनि ट्रम्पको एकाउन्ट अनिश्चितकालका लागि निलम्बनको घोषणा गरेको थियो।