निर्वाचन तयारीमा जुट्यो आयोग, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन शुरू
निर्वाचन आयोगले बिहीबारदेखि मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम शुरू गरेको छ। आगामी वैशाखमा निर्धारित निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकनको काम शुरू गरिएको आयोगले जनाएको छ।
आगामी १७ र २७ वैशाखमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आयोगले पनि निर्वाचनको काम शुरू गरिसकेको जनाएको छ।
निर्वाचनका आवश्यक विभिन्न कामसँगै अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरू गरिसकेको आयोगले जनाएको छ।
मतदाता नामावली तयारीको काम गर्दै गर्दा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य समते सँगैसँगै गर्नुपर्ने भएकाले अन्तिम मतदाता नामावली प्रकाशन गर्नुअघि नै मतदानस्थल तथा केन्द्र निर्धारणको काम सक्ने गरी बिहीबारदेखि काम थालिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित् विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरू सम्मिलित जिल्ला मतदानस्थल र मतदान केन्द्र सिफारिस समिति हुने गरेको छ।
यो काम १७ माघसम्म सक्ने गरी आयोगले कार्यतालिका स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले बताए। आयोगले मंगलबार (२१ पुसमा) 'मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७' र त्यसको कार्यान्वयनको लागि 'मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम २०७७' स्वीकृत गरेको थियो।