नेकपा विभाजनको असर जिल्ला तहमा, पूर्व एमालेभित्र कहाँ को बलियो ?
औपचारिक रूपमा विभाजन हुन बाँकी नेकपाभित्र अहिलेको परिदृश्यलाई पूर्वएमालेको विभाजनका रूपमा हेरिएको छ। दुवै समूहमा छुट्टिएका नेताहरूको उपस्थिति हेर्दा त्यसलाई पुष्टि गर्छ। र, विभाजनसँगै पूर्व एमालेभित्र कुन प्रदेशमा कुन समूह बलियो भनेर आकलन समेत गर्न थालिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केन्द्रमा आएको विभाजनको प्रभाव प्रदेश र जिल्ला तहमा पनि पुगेको छ। दुवै पक्षले जिल्ला तहमा भेलाहरू गर्न शुरू गरेका छन्। आइतबार मात्र नेकपाको माधव नेपाल र पुष्पकमल दाहाल समूहले विभिन्न जिल्लामा भेला सम्पन्न गरिसकेको छ।
नेकपामा अहिलेको विभाजनलाई पूर्व एमालेमा आएको विभाजनसँग जोडेर हेर्ने गरिएको छ। किनभने संगठनात्मक रूपमा तत्कालीन माओवादी पूर्वएमाले भन्दा कमजोर छ।
नेकपाको अहिलेको दुई समूह हेर्दा पूर्व माओवादीका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह लगायका केही सीमिति नेता मात्र केपी शर्मा ओली समूहमा छन्।
तर, पूर्व एमालेको माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको ठूलो समूह भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छ। राजनीतिशास्त्रका जानकारहरू भन्छन्–यो नेकपाको विभाज होइन, पूर्व एमालेको विभाजन हो।
नेकपाको नवौं महाधिवेशनदेखि पार्टीमा ओली र नेपाल पक्षका तल्ला तहसम्म दुई गुट थिए। पार्टीको वडा तहको अधिवेशनसम्म नेपाल र ओली गुटका आधारमा निर्वाचन हुने र नेतृत्व छनोट हुने परम्परा शुरू भएको थियो। अहिलेको विभाजन पनि सोही गुटका आधारमा भएको छ।
धेरै ठाउँमा अहिलेपनि नेता कार्यकर्ताहरू कतै खुलेका छैनन्। तर, कुन जिल्लामा कुन पक्ष बलियो भन्ने हिसाब–किताब भने हुन थालिसकेको छ।
प्रदेश–१ का जिल्लामा जिल्ला तहका नेताहरूको अहिलेको कित्ताकाटले पूर्व एमालेको ओली समूहभन्दा माधव नेपाल समूह बलियो देखिन्छ। ओली समूहको बर्चश्व झापा, धनकुटा, खोटाङ, सोलुखुम्बुमा मात्र देखिन्छ।
धनकुटाका जिल्ला अध्यक्ष राजेन्द्र राई, झापाका चिन्तन पाठक, खोटाङका विशाल भट्टराई ओली पक्षमा लागेका छन्। झापा ओलीको आफ्नै गृहजिल्ला हो। यहाँ पहिलेदेखि माधव नेपाल समूह कमजोर थियो।
इलाममा अहिलेसम्म खुलेका नेता कार्यकर्ताको आधारमा दुवै पक्षको बराबरी जस्तो छ। ताप्लेजुङमा माधव नेपाल समूह धेरै बलियो देखिएको छ। योगेश भट्टराई स्वयं ताप्लेजुङको भएकाले सबै उनकै पक्षमा देखिएका छन्।
संखुवासभा, तेह्रथुम, सुनसरी र पाँचथरमा माधव नेपाल समूह बलियो देखिएको छ। भोजपुरमा आधा आधाको अवस्था छ। उदयपुरमा जिल्ला अध्यक्ष र सचिव माधव नेपाल समूहमा देखिएपनि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि ओली पक्षमा खुलेका छन्।
मोरङमा भने प्रभाव आधा जस्तो पर्ने देखिन्छ। मोरङबाट प्रतिनिधित्व गर्ने गुरु बराल, विनोद ढकाल, भानुभक्त ढकाल ओली समूहमा छन् भने महेश रेग्मी र जीवन घिमिरे माधव नेपाल समूहतिर लागेका छन्।
प्रदेश–२ मा पूर्वएमाले पहिलेदेखि कमजोर हो। तत्कालीन माओवादीका प्रभु साह ओली पक्षमा लाग्दा उनलाई केही राहत भएको छ। मध्यतराईमा उनको राम्रो पकड मानिन्छ। सिरहामा राम्रो पकड राख्ने लीलानाथ श्रेष्ठ पनि ओली पक्षतिरै छन्।
बागमती प्रदेशमा मकवानपुर, धादिङ, सिन्धुपाल्चोकमा माधव नेपाल पक्ष बलियो देखिएको छ। किनभने संगठन गरेका र जनाधार पकड भएका नेताहरू माधव नेपाल पक्षमा बढी छन्। जस्तो, मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सांसद विरोध खतिवडा लगायत माधव नेपाल पक्षतिर देखिएका छन्। स्थानीयस्तरमा संगठन निर्माण गरेका केन्द्रदेखि जिल्ला तहका नेता माधव नेपाल पक्षमा लाग्दा धादिङमा पनि ओली पक्ष कमजोर देखिएको छ।
यो जिल्लाबाट प्रतिनिधित्व गर्ने राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी माधव नेपाल पक्षतिर छन्। चितवनका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल, सुरेन्द्र पाण्डे माधव नेपाल पक्षतिर लागेपनि यो जिल्लामा ओली पक्ष कमजोर छैन। राम्रो जनाधार भएका विजय सुवेदी, देवी ज्ञवाली, जेएन थपलिया, पार्वती रावल जस्ता नेता ओली पक्षमै छन्। सिन्धुली, रसुवा लगायतका जिल्लामा ओली पक्ष बलियो देखिन्छ।
काभ्रे, भक्तपुरमा ओली पक्षको अवस्था राम्रो देखिन्छ। काठमाडौं र ललितपुमा कुन पक्ष बलियो हुन्छ, अहिल्यै अनुमान गर्न गाह्रो हुने दुवै समूहका नेताहरू बताउँछन्। तर, दुवै समूहले आफू बलियो भने दाबी भने छोडेका छैनन्।
ओलीको सबैभन्दा राम्रो पकड गण्डकी र लुम्बिनी प्रदेशमा देखिन्छ। गण्डकी प्रदेशमा गोरखा र बाग्लुङबाहेक अन्यत्र जिल्लामा ओली पक्षले पकड राख्छ। रोचक कुरा त के भने पूर्व माओवादी कमजोर भएको ठाउँमा ओली पक्ष बलियो देखिन्छ। गण्डकी प्रदेशमा नेतृत्व गर्ने माधव नेपाल पक्षका नेता छैनन्। यो प्रदेशबाट पूर्व माओवादीका देवेन्द्र पौडेल र देव गुरुङ छन्।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य पुण्य पौडेल पूर्व माओवादीले नेतृत्व गरेको प्रदेशमा ओली पक्ष बलियो बनेको बताउँछन्।
“पूर्व एमालेका माधव नेपाल समूहका नेताहरूले नेतृत्व गरेको भए माधव नेपाल समूहको फरक स्थिती हुन सक्थ्यो, तर यहाँ पूर्व एमालेको माधव नेपाल समूहमा भएका तुलबहादुर गुरुङ लगायतका नेता पनि भूमिकाविहीन जस्तै छन्। पूर्व माओवादीले नेतृत्व गर्दा एमाले कार्यकर्ताको आकर्षण देखिएन।”
तनहुँ, कास्की पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जाका विभिन्न स्थानीय तहमा तत्कालीन एमालेको तर्फबाट विजयी भएका र संगठन निर्माणका खटिएका नेताहरू ओली पक्षमा देखिनुले पनि ओली पक्ष बलियो देखिएको हो।
लुम्बिनी प्रदेशका कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मीमा पूर्व एमालेमा नेपालभन्दा ओली पक्ष धेरै बलियो देखिन्छ। अहिले खुलेका कार्यकर्ताको आधार हेर्दा ८५ प्रतिशत ओली र १५ प्रतिशत नेपालको पक्षमा देखिन्छ।
लुम्बिनीबाट प्रतिनिधित्व गर्ने विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी ओली पक्षमा लाग्नुले पनि ओली पक्ष यहाँ बलियो देखिएको हो। कपिलवस्तुमा आइतबार भएको नेपाल–दाहाल समूहको जिल्ला भेलामा साविक एमालेबाट सानो संख्यामा मात्र सहभागी भए।
बाँके र बर्दियामा पूर्व एमालेको नेपाल र ओली समूहको बराबरीको स्थिति देखिन्छ। ती जिल्लामा वामदेवको भूमिकाले पनि प्रभाव पार्दछ। वामदेव अहिलेसम्म कतै खुलिसकेका छैनन्। तर, वामदेव निकट मानिएका ओली समूहमा छन्। जस्तो कि लुम्बिनी प्रदेश सरकारकी कृषि मन्त्री आरती पौडेल ओली समूहमा छिन्।
माओवादी प्रभावित मानिएका रोल्पा, रुकुम लगायतका जिल्लामा यो विभाजनले पूर्व एमाले पंक्तिलाई ठूलो क्षति नगर्ने देखिन्छ। यस क्षेत्रमा तत्कालीन माओवादीबाट पीडित कार्यकर्ता ओलीको पक्षमा देखिएका छन्। उदाहरणका लागि पार्टी एकीकरणपछि रोल्पा जिल्ला कमिटीमा पूर्वएमालेको तर्फबाट ५४ सदस्य रहेकोमा ४६ जना ओली पक्षमा देखिएका छन्।
कर्णाली प्रदेशमा पनि पूर्वएमाले पंक्तिमा अहिलेसम्मको अवस्थामा अपेक्षाभन्दा बढी ओली पक्षको उपस्थिति राम्रो देखिन्छ। हुम्लाका दल रावल, कालीकोटका नेशनल शाही, डोल्पाका दत्त रोक्का, दैलेखका रवीन्द्र शर्मा, सल्यानका गोविन्द पुन तत्कालीन एमालेको जिल्ला अध्यक्ष भएका नेताहरू ओली पक्षमा खुलेका छन्।
यद्यपि, निर्वाचन आयोगले प्रदान गर्ने चुनाव चिन्हले पूर्व एमाले भित्रको समूह को कता भन्ने निर्धारण गर्ने स्थानीय नेता/कार्यकर्ता बताउँछन्। सुदूरपश्चिम प्रदेशमा भने माधव नेपाल समूहको राम्रो पकड देखिएको छ।
नेकपाको ओली समूहका केन्द्रीय सदस्य विशाल भट्टराई अहिले नै हिसाब–किताब गर्ने बेला नभएको तर्क गर्छन्। “विभाजनतर्फ उन्मुख छ, तर पार्टीपंक्ति अहिले नै विभाजन भइसकेको छैन। हामीले कार्यकर्तालाई मुलधारमा बस्न आग्रह गरेका छौं”, भट्टराईले भने।