बहुविवाह गर्ने जनप्रतिनिधिविरुद्ध अधिकारकर्मीद्वारा मुद्दा दायर, भन्छिन्,-‘कानूनको प्रयोग गरेको हुँ’
![बहुविवाह गर्ने जनप्रतिनिधिविरुद्ध अधिकारकर्मीद्वारा मुद्दा दायर, भन्छिन्,-‘कानूनको प्रयोग गरेको हुँ’](https://www.himalkhabar.com/uploads/posts/800X600/Dabal-Bohara-Achham_1608876664.jpg)
अछामको साँफेबगर नगरपालिकाका एक जनप्रतिनिधिले बहुविवाह गरेको थाहा भएपछि जिल्लाकै अधिकारकर्मी पशुपति कुवँरले मुद्दा दायर गरेकी छन्। साँफेबगर नगरपालिका–५ का वडा सदस्य डबलबहादुर बोहराले गत भदौमा दोस्रो बिहे गरेपछि उनले मुद्दा दायर गरेकी हुन्। नेपाली कांग्रेसबाट निर्वाचित बोहरा घरमा श्रीमती, छोरा, नातिसमेत भएको व्यक्ति हुन् भने उनीसँग बिहे गर्ने महिलाको श्रीमान तथा बच्चाहरू रहेको अधिकारकर्मी कुवँरले बताइन्। यसबारेमा उनले हिमालखबरसँग टेलिफोनमा भनिन्:
अछामको साँफेबगर नगरपालिका–५ का वडा सदस्य डबलबहादुर बोहराले दोस्रो बिहे गरेको २३ भदौमा हो। बिहे गरेको भन्ने केही दिनपछि हामी अधिकारकर्मीहरूले थाहा पायौँ। तर, दुवैलाई मिलाएर राख्छु भनेर समाजले समेत एक हिसाबले स्वीकृति दिएको थाहा पायौं।
उनको पहिलो श्रीमती, छोरा समेत रहेको र मिलाएर राख्ने भनेर ‘समाज’ले समेत स्वीकृती दिएको भनेपछि चुपै लागेर बस्यौं। तर, ती व्यक्तिले त दोस्रो श्रीमतीसँगको फोटो फेसबुकमा राख्न थाले। दोस्रो बिहे भन्ने थाहा पाएकै ठूलाबडा र बुझ्ने भनिएका व्यक्तिहरूका पनि ‘बधाई, राम्रो जोडी’ भन्दै थुप्रै कमेन्टहरू आउन थाल्यो। जेठी श्रीमती भने समस्यामा परेको थाहा पायौं। उहाँ (पहिलेको श्रीमती) लाई नै मुद्दा हाल्नुस् भन्ने सुझाव दियौं, तर उहाँ डराए जस्तो लाग्यो।
कानूनमा यस्तो मुद्दा अरुले पनि दिन मिल्ने भन्ने प्रावधान भएको थाहा थियो। म आफू लामो समयदेखि महिला हिंसाविरुद्ध र महिला अधिकारका लागि काम गर्दै आएको हुनाले यस्तो विषयलाई त्यत्तिकै छोड्नु हुँदैन भनेर १९ मंसीरमा प्रहरीमा निवेदन दिएको हुँ। त्यसको चार/पाँच दिनपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ। उनीहरू हिरासतमै छन्। प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको रहेछ, अदालतले म्याद थप गरेर हिरासतमै राख्न भनेको प्रहरीले जानकारी दिएको छ।
बिहे गर्ने महिलाको श्रीमान् भारतबाट घर आइपुगेका छन्। ‘म आफैं मुद्दा हाल्छु भन्ने सोचेर आएको, तपाईंहरूले हाल्दिएर राम्रो काम गर्नुभयो’ भने। चुनावमा निर्वाचित भएर सार्वजनिक पदमा भएको व्यक्तिहरूले गलत गरे देख्ने र अरु बाहिरका मान्छेले पनि मुद्दा दायर गर्न सके यस्ता घटनाहरू गर्न अन्य व्यक्तिहरू डराउँछन् भन्ने लागेको छ।
बोहराको पहिलेको श्रीमती घरमै छिन् भने छोरा र नातीसमेत घरमै छन्। बोहरासँग बिहे गर्ने महिलाको पनि श्रीमान रोजगारीका लागि भारतमा भएको र घरमा करीब ७/८ वर्षको एउटा र १०/११ वर्षका अर्को गरी दुई सन्तान भएको थाहा पायाैं। यस्तो हुँदाहुँदै पनि दुवैलाई मिलाएर राख्छु भनेपछि ‘समाज’ले समेत बिहे गर्न स्वीकृति दिएको रहेछ।
हामीले मुद्दा हालेपछि रावलको पहिलेको श्रीमतीलाई छोरालगायत श्रीमान् पट्टीका आफन्तहरूले किन मुद्दा हालेको भन्दै सोधिरहेको थाहा पाएका छौं। उहाँ डराउनु भएको छ। उहाँलाई नै सुरक्षा दिनुपर्ने अवस्था पनि छ भने श्रीमानविरुद्ध मुद्दा हालेर त्यही घरमा बसेको भनेर अरु कसैले भन्दिएका कारण मानसिक तनाव र त्रासमा हुनुहुन्छ। छोराले समेत आमालाई साथ दिनुको सट्टा बुबालाई जेल हालेको भनेर तनाव दिएको पाइएको छ।
बिहे गर्ने महिलाको श्रीमान् भारतबाट घर आइपुगेका छन्। ‘म आफैं मुद्दा हाल्छु भन्ने सोचेर आएको, तपाईंहरूले हाल्दिएर राम्रो काम गर्नुभयो’ भने। चुनावमा निर्वाचित भएर सार्वजनिक पदमा भएको व्यक्तिहरूले गलत गरे देख्ने र अरु बाहिरका मान्छेले पनि मुद्दा दायर गर्न सके यस्ता घटनाहरू गर्न अन्य व्यक्तिहरू डराउँछन् भन्ने लागेको छ।
बिहेपछि पनि उनी वडाको बैठकमा जाने गरेको समेत पायौं। यसमा नगरपालिकाले पनि कारबाहीस्वरूप केही गर्नुपर्थ्यो भने उनी आवद्ध पार्टी नेपाली कांग्रेसले पनि थाहा पाउने बित्तिकै केही समय भए पनि निलम्बन गर्नुपर्ने हो। तर, पार्टीका जिल्ला नेताहरूले नै ‘बधाई’ भनेर सामाजिक संजालमा ‘कमेन्ट’ गरेको देख्दा दुःख लाग्छ।
दुवैको घरपरिवार, छोराछोरी समेत हुँदाहुँदै बिहे गरेकाले अदालतले बहुविवाह गर्नेलाई हुने दण्ड सजाय जति हुन्छ, न्यूनतम नभएर अधिकतम सजाय गरिदिए हुन्थ्यो भन्ने आशामा हामी अधिकारकर्मीहरू छौं।