कांग्रेस सभापति देउवा संवैधानिक परिषद्को बैठकमा नजाने
![कांग्रेस सभापति देउवा संवैधानिक परिषद्को बैठकमा नजाने](https://www.himalkhabar.com/uploads/posts/800X600/Sher-bahadur-deuba_1607423005.jpg)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन्।
सरकारले अध्यादेश ल्याएको विरोधमा आज साँझ बोलाइएको बैठकमा नजाने निर्णय भएको उनका स्वकीय सचिव भानु देउवाले बताए।
उनले भने, “अध्यादेशप्रति पार्टीको समर्थन छैन, त्यसैले सभापतिज्यू बैठकमा जानुहुँदैन।”
बैठकमा जाने वा नजाने निर्णय गर्नुअघि देउवाले पार्टीका केही नेताहरूसँग परामर्श पनि गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे परिषद्को बैठक बोलाएका छन्। बिहान ९ बजे बोलाएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठक साँझका लागि सारिएको थियो।
आजै दिउँसो सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ। अध्यादेशको सत्तारूढ नेकपाभित्रैबाट पनि विरोध भइरहेको छ।