कोभिड प्रभावित आयोजनाको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग
![कोभिड प्रभावित आयोजनाको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग](https://www.himalkhabar.com/uploads/posts/800X600/Rabi-Singh_1607331003.jpg)
नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरूको म्याद थप गर्न माग गरेको छ। महासंघले १३औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले कोभिड–१९ का कारण प्रभावित आयोजनाहरूको म्याद एक वर्ष थप्नुपर्ने माग गरे।
कोभिडका कारण करीब ६ हजार आयोजनाहरू प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने उनको माग छ। यस्तै २ हजार ७७० वटा रुग्ण आयोजनाहरूको म्याद गत १४ फागुनमा एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरू पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने अध्यक्ष सिंहको माग छ।
गत असारमा म्याद थप गरिएका आयोजनाहरूमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत उनको माग छ। सिंहले कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझैपनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन सरकारसँ माग गरे।
निर्माण क्षेत्रलाई चलायमान बनाउन आफूहरू आतुर रहेको तर, सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाइ छ। निर्माण भइरहेका आयोजनाहरूमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको उनको आरोप छ।