कामदारको भीसा प्रणालीमा भ्रष्टाचार: मलेशियाका पूर्व उपप्रधानमन्त्री हमिदीको मुद्दामा अप्रिलमा सुनुवाइ
नेपाली कामदार मलेशिया जाने भीएलएन प्रणालीमा भ्रष्टाचार गरेको आरोप लागेका मलेशियाका पूर्व आन्तरिक मामिला मन्त्री अहमद जहिद हमिदीको मुद्दाको सुनुवाई आउँदो वर्षको १२ अप्रिलमा हुने भएको छ।
हमिदीले मलेशियाको विदेशी भीसा प्रणाली अर्थात् भीएलएन कार्यान्वयन गर्ने क्रममा घूस लिएको ४० आरोप लागेको छ। यही मुद्दामा मलेशियाको उच्च अदालतले १२ अप्रिलमा सुनुवाई गर्ने समय तय गरेको हो। उनको मुद्दामाथिको सुनुवाइ हुने समय १२ देखि २२ अप्रिलसम्म तोकिएको छ।
अदालतले यसअघि नै भीएलएन प्रणाली लागू गर्ने क्रममा घूस दिएको आरोप लागेका विभिन्न व्यक्तिसँगको बयान लिने काम सकिसकेको छ।
मलेशियाका सञ्चारमाध्यमहरुका अनुसार, हमिदीको मुद्दामाथिको सुनुवाई गएको १२ अक्टोबरमा तोकिए पनि कोरोनाभाइरस संक्रमण महामारी रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण सुनुवाइ हुन सकेन।
घूस प्रकरणमध्ये एउटा मुद्दामा हमिदीले तीन वटा कम्पनीबाट २ करोड १२ लाख ५० हजार मलेशियन रिंगिट घूस लिएको आरोप छ। हमिदीले घूस लिएका तीन कम्पनीमध्ये एउटा कम्पनी नेपालसँग जोडिएको थियो।
भ्रष्टाचारको मुद्दा लागेका ६७ वर्षीय हमिदीले अल्ट्रा किराना एसडीएन बिएचडीबाट १३.५६ मिलियन अमेरिकी डलर घूस लिएको आरोपमा आफू दोषी नभएको बताउँदै आएका छन्। उनले अल्ट्रा किरानाबाट घूस लिएको भ्रष्टाचारको ३३ वटा मुद्दाको सामना गरिरहेका छन्।
उनले आन्तरिक मामिला मन्त्री भएका बेला नेपालसहितका विभिन्न देशका विदेशी कामदार मलेशिया जान पूरा गर्नुपर्ने 'वान स्टप सिस्टम' (ओएससी) र भीसा प्रक्रिया भीएलएन प्रणालीमाथिको ठेक्का नवीकरण गर्दा कम्पनीबाट घूस लिएको आरोप लागेको छ।
हमिदीमाथि भ्रष्टाचारको मुद्दा लागेपछि क्वालालम्पुरस्थित उच्च अदालतले २ मंसीर २०७६ देखि उनको मुद्दामाथिको बहस शुरु गरेको थियो। उनलाई मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन) ले ९ असार २०७६ मा भीएलएन प्रणाली लगायतमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरेको थियो। आयोगले ११ असारमा उनी विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
आयोगले हमिदीलाई पहिलो पटक २०७५ कात्तिकमा आन्तरिक मामिला मन्त्री हुँदा ११ करोड ४१ लाख ४६ हजार ७५१ मलेशियन रिंगिट अवैध रुपमा आर्जन गरेको आरोपमा पक्राउ गरेर उच्च अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले कालो धन वैध बनाएका २७, विश्वास उल्लंघनको अपराध गरेका १० र घूस लिएका ८ वटा गरी ४५ वटा अभियोगमा उनी विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो।
घूस प्रकरणमध्ये एउटा मुद्दामा हमिदीले तीन वटा कम्पनीबाट २ करोड १२ लाख ५० हजार मलेशियन रिंगिट घूस लिएको आरोप छ। हमिदीले घूस लिएका तीन कम्पनीमध्ये एउटा कम्पनी नेपालसँग जोडिएको थियो।
आयोगले अदालतमा दर्ता गरेको हमिदी विरुद्धको अभियोगपत्रमा मलेशियाको कम्पनी प्रोफाउन्ड रेडियन्स एसडीएन बीएचडीका निर्देशक अज्लन साह जफ्रिलबाट उनले १९ साउन र १ चैत २०७४ मा २० लाख मलेशियन रिंगिट बराबरका तीनवटा चेक घूस बापत बुझेको उल्लेख गरेको छ।
प्रोफाउन्ड रेडियन्स नेपालमा मलेशिया जाने कामदारको पासपोर्ट संकलन गरेर दूतावासमा पुर्याउने कम्पनी हो। हमिदीले घूस लिएको प्रोफाउन्ड त्यही कम्पनी हो, जसले नेपालमा मलेशिया भीएलएन नेपाल प्रालि कम्पनी मार्फत मलेशिया जाने कामदारबाट पासपोर्ट संकलन गर्ने नाममा प्रतिकामदार रु.२८०० असुल्ने गरेको थियो।
भीएलएनले कामदारबाट उठाएको रकम प्रोफाउन्डलाई पठाउने गरेको र रकम असुले बापत भीएलएनले प्रति कामदार रु.४२० कमिसन पाउने गरेको थियो। भीएलएन नेपाल प्रालिका सञ्चालक राम श्रेष्ठ हुन्।
भीएलएन, ओएससी लगायतका विभिन्न प्रणालीका नाममा भ्रष्टाचार भएको र उक्त काममा नेपाल र मलेशियाका हमिदीसहितका उच्च अधिकारीहरु संलग्न रहेकोबारे हिमालखबर, खोज पत्रकारिता केन्द्र र मलेशियाकिनीले संयुक्त रूपमा असार–साउन २०७५ मा खुलासा गरेका थिए।
सरकारी अधिकारीसँगकोमिलेमतोमा नेपाली एजेन्ट कम्पनीले मलेशिया जाने कामदारबाट अनधिकृत रुपमा रकम उठाएको र उक्त रकम गैरकानूनी बाटोबाट मलेशिया पुर्याएको पनि खुलासा भएको थियो। नेपालमा मलेशिया र नेपालका तत्कालीन सरकारी अधिकारी र एजेन्ट कम्पनीबीचको मिलेमतोमा भीसा लुअर नेगरा–भीएलएन नाम दिइएका भीसा सेन्टर खोलेर २०७० सालदेखि २०७५ वैशाखसम्म मलेशिया जाने कामदारबाट अतिरिक्त रकम असुल्ने काम भइरहेको थियो।
भीएलएन हमिदी आन्तरिक मामिला मन्त्री भएका बेला मलेशियन सरकारले ‘आउट–सोर्सिङ’ गरेको निजी कम्पनी अल्ट्रा किराना एसडीएन बीएचडीको नियन्त्रणमा रहने नेपाली एजेन्ट कम्पनी हो। भीएलएनले भीसा प्रोसेसिङ शुल्क बापत २०७५ वैशाखसम्म नेपाली कामदारबाट रु.३ हजार २०० का दरले एक अर्ब ९५ करोड उठाएको थियो।