प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भेटघाट
![प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भेटघाट](https://www.himalkhabar.com/uploads/posts/800X600/Oli-Nepal_1604834976.jpg)
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन्।
पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधामन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए भने आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा एकल दस्तावेज ल्याएको भन्दै ओलीले फिर्ता गराउन पूर्वएमालेका नेताहरूलाई फकाउने कोसिस गरिरहेका छन्।
स्रोतका अनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए। साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो तयार रहेको बताएका थिए। तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएका छन्।
आज बिहानै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बोलाएपछि गौतम बिहान बालुवाटार पुगेका थिए।
भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए। जवाफमा गौतमले कुनै नेतालाई गाली गरेर समस्याको समाधान नहुने भन्दै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि आएको प्रस्ताव फिर्ता नहुने बताए।
“यो कमरेड प्रचण्डको मात्र प्रस्ताव होइन हामी पाँचै जना (अध्यक्ष दाहाल, उपाध्यक्ष गौतम, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ) को प्रस्ताव हो। सबैको सहमतिमा आएको प्रस्ताव हो”, नेता गौतमले प्रधानमन्त्रीसँगको भेटमा भनेको कुरा उदृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, “मैले भनेर मात्रै प्रस्ताव फिर्ता हुँदैन। मुख्य कुरा तपाईंको कार्यशैली हो। कार्यशैली सुधारे यो प्रस्ताव गौण हुन्छ।”