धनगढीमा आयल निगमको अव्यवस्थित पार्किङले जोखिममा वस्ती
मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकरको अव्यवस्थित पार्किङका कारण धनगढी असुरक्षित बन्दै गएको छ। पार्किङका लागी जग्गा भाडामा लिइए पनि उचित व्यवस्थापन हुन नसक्दा धनगढीको मुख्य सडकमा भइरहेको ट्यांकर पार्किङ हट्न सकेको छैन्।
नेपाल आयल निगमले अलग्गै ट्यांकर पार्किङस्थल निर्माण गरेपनि अहिलेसम्म मुख्य सडकमा नै पार्किङ हुँदै आएको छ। अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर मुख्य सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ।
बाक्लो बस्ती र सँगै जोडिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशको डिपो, पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्यांकी, साघुँरो ठाउँ र सडकमै पेट्रोलियम पदार्थले भरिएका ट्यांकर, सोही सडक भएर दैनिक ओहोरदोहोर गर्छन्।
यो दृश्य नेपाल आयल निगम सुदूरपश्चिम प्रदेश कार्यालय डिपो आसपासको हो। धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमै लस्करमा डिजेल, पेट्रोल भरिएका ट्यांकर हुन्छन्। बस्ती नजिकै आयल निगमको डिपो हुँदा दुर्घटनाको जोखिम बढेको छ। सडक क्षेत्रमा जथाभावी ट्यांकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका छन्। उक्त स्थानमा सवारी चलाउँदै आएका सवारी चालकहरूमा पेट्रोलियम पदार्थसहितका ट्यांकर सडक किनारमा पार्किङ गर्दा दुर्घटना जोखिम बढाउनेमा चिन्तित छन्। स्थानीय अटो रिक्सा चालक गणेश चौधरी साँघुरो बाटोमा सवारी सञ्चालन गर्दा जोखिम बढाएको र सडक छेउमै पार्किङ हुँदा झन समस्या भएको बताउँछन्।
२०३७ सालमा खुला ठाउँमा स्थापना गरिएको आयल निगमको सुदूरपश्चिम डिपो चारैतिर बस्ती बिस्तार भएपछि धनगढी असुरक्षित भएको हो। नेपाल आयल निगम धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ। गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएपनि व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरगता दिँदै आएका हुन्। सम्भव भएसम्म अहिलेको ठाउँमा नै व्यवस्थित र सुक्षित गरेर पार्किङको व्यवस्था मिलाउने र स्थानीयले सहमति नदिए अर्को स्थानमा पार्किङ व्यवस्थापनका लागि तयारी गरिने नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशका प्रमुख चितरंजन दासले बताए।
सुदूरपश्चिमको निगमसँग डिजेलका लागि ३ दिनसम्मको भण्डारण क्षमता रहे पनि पेट्रोलियम पदार्थ भने एक दिन पनि ढुँवानी गर्न नसक्दा अभाव हुने गरेको छ। एक बिघा ८ कठ्ठा जमिनमा रहेको सुदूरपश्चिम निगमको डिपोको कार्यालय साँघुरो छ। सम्बन्धित निकायले सडकमै ट्यांकर पार्किङ नगर्न अनुरोध गर्दा पनि आयल निगमले मानेको छैन। स्थानीयले अवरोध गरेपनि निगमले सोही जग्गा विगत ४ महिनादेखि मासिक २० हजारका दरले भाडा तिर्दै आएको छ।