कोरोना बीमाको भुक्तानी सात दिनभित्र गर्न बीमा समितिको निर्देशन
![कोरोना बीमाको भुक्तानी सात दिनभित्र गर्न बीमा समितिको निर्देशन](https://www.himalkhabar.com/uploads/posts/800X600/corona_bima_1604410278.jpg)
कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरूलाई बीमा समितिले निर्देशन दिएको छ। कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरूलाई दावी परेको सात दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो।
बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थमन्त्रालयसँगको छलफल पछि सबै प्रक्रिया सात दिनभित्र पूरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए।
यसअघि बीमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरू विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दावी भुक्तानीमा ढिलाई भएको पनि अध्यक्ष चापागाईंले बताए। तर, अबदेखि प्रमाणिकरणका सबै प्रक्रियाहरू एक साताभित्र पुरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए।
कुनैपनि बीमितले बीमा दावी गर्दा पीसीआर परीक्षणमा पोजिटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने पनि अध्यक्ष चापागाईंले बताए।
अहिलेसम्म नेपालमा करीब २ हजार व्यक्तिले २० करोड रूपैयाँ बराबरको भुक्तानी पाइसकेका छन्। अहिले पनि बीमा कम्पनीहरूमा करीब १३ हजार दावी परेको अध्यक्ष चापागाईंले बताए। मंगलबार अर्थ मन्त्रालयले कोरोना बीमा भुक्तानी एक साताभित्रै गर्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको थियो।