एक करोड १५ लाख रूपैयाँ ठगी गर्ने १२ जना पक्राउ
![एक करोड १५ लाख रूपैयाँ ठगी गर्ने १२ जना पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/Bhaktapur-Police_1602400862.jpg)
भक्तपुर प्रहरीले सवा करोड रकम ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। केही अमेरिकी डलर देखाएर एक करोड १५ लाख १० हजार रूपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, सोही ठाउँका ३३ वर्षे रेलबहादुर तामाङ, बाह्रबिसे नगरपालिका–६ घर भई भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बस्ने ५६ वर्षीय धनजित तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ, ३२ वर्षीया कान्छी तामाङ रहेका छन्।
यस्तै, सिन्धुपाञ्चोलक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा बस्ने २३ वर्षीय विमल भण्डारी, २१ वर्षीय निर्मल भण्डारी, बाह्रबिसे–२ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३३ वर्षीय राजकुमार तामाङ, बाह्रबिसे–४ घर भई लोकन्थली, भक्तपुर बस्ने ३१ वर्षीय धनबहादुर भण्डारीलाई पनि प्रहरी पक्राउ गरेको छ।
बाह्रबिसे नगरपालिका–२ घर भई हाल भक्तपुर सुडाल बस्ने २८ वर्षीय कमल भण्डारी, बाह्रबिसे–४ घर भई हाल भक्तपुरका कालोपाटी बस्ने २७ वर्षीय राकेश भण्डारी र बाह्रबिसे–३ घर भई हाल काठमाडौं बालाजु बस्ने ३९ वर्षीय सन्चबहादुर योञ्जन पनि पक्राउ परेको भक्तपुर प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ५ लाख ९४ हजार ४७५ रूपैयाँ, १२ थान मोबाइल, ५ थान मोटरसाइकल, डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो ५ बण्डल, अमेरिकन डलर ४६० बरामद भएको छ।
उनीहरूले विगत केही समयदेखि भक्तपुरलगायत आसपासका ठाँउहरूमा अमेरिकी डलर देखाई ठगी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध ठगी मुद्दामा म्याद थप लिइ अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।