डा. केसी र सरकारबीचको वार्ता स्थगित भएपछि चिकित्सक संघले आकस्मिक र कोरोना बाहेकका सबै सेवा बहिस्कार गर्ने
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै आकस्मिक र कोरोना बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको छ।
संघले २४ असोजमा प्रेस विज्ञप्ती जारी गर्दै यसअघि सरकार र डा. केसी पक्षबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेकोमा शुक्रबार वार्ता स्थगित भएपछि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूको आकस्मिक र कोभिड–१९ का सेवा बाहेकका सबै स्वास्थ्य सेवा पूर्ण रुपमा बहिस्कार गर्ने निर्णय गरेको हो।
संघले यसअघि सरकारले वार्ता गर्न टोली गठन गरेपछि २३ असोजमा पूर्व निर्धारित विरोधका कार्यक्रमलाई स्थगित गरेको थियो। आइतबारसम्म पनि सरकारले डा. केसीको जीवन रक्षा गर्न र अनशन तोडाउन पहल नगरे थप कडा कदम चाल्न बाध्य हुने संघले विज्ञप्तीमार्फत जनाएको छ।
“सत्याग्रहको २७ औं दिन बितिसक्दा पनि डा. केसीको जीवन रक्षाका निम्ती नेपाल सरकार गम्भीर नभएको एवं वार्ता र संवाद केबल औपचारिकतामा लागि मात्रै सिमित गरिएकोप्रति नेपाल चिकित्सक संघ गम्भीर आपत्ति प्रकट गर्दछ”, संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ।
डा. केसी अनशन बसेको २७ औँ दिन पुगिसक्दा उनको स्वास्थ्य जटिल बन्दै गइरहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
यसैबीच सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपिनाथ मैनालीले २४ असोजमा प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीका अधिकांश माग पूरा भएको र कतिपय माग पूरा हुने चरणमा रहेको भन्दै अनशन तोड्न आग्रह गरेका छन्।
उनले सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार र सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिबद्ध रहेको र हाल कोरोनाको महामारिले मुलुक अक्रान्त भएको अवस्थामा यस्तो विषयम परिस्थितिलाई मनन गर्दै अनशन अन्त्य गर्न आग्रह गरेका हुन्।