बलात्कारका घटनामा मिलापत्र गराउनेलाई पनि कानूनी दायरामा ल्याउन माग

देशका विभिन्न ठाउँमा बलात्कार र बलात्कारपछि हत्याका घटनामा वृद्धि भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध महिला संगठन अनेमसंघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
आज गृहमन्त्री रामबहादुर थापालाई भेटेर अनेमसंघका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेललगायत नेकपा आवद्ध महिला सांसदहरूले गृह मन्त्रीलाई भेटेर बलात्कारका घटनामा मिलापत्र गर्ने गरेको भन्दै यस्ता घटनामा संग्लग्नलाई पनि दण्ड सजाय हुने गरी कानून संशोधन गर्न माग गरेका छन्।
बलात्कारपछि हत्या गरिएकी बझाङकी सम्झना विश्वकर्मा (कामी) को हत्यामा संलग्न व्यक्तिले एक महिनाअघि अर्की एक बालिकालाई समेत बलात्कार गरेर स्थानीयले मिलापत्र गराएको तथा सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना गाउँमै ‘पञ्चायती’ बसेर मिलाएपछि पीडितले आत्महत्या गरेको जस्ता घटनामा संग्लग्न लाई पनि कानूनी दायरामा ल्याउन गृहमन्त्री थापालाई उनीहरूले आग्रह गरेका हुन्।
भेटमा सहभागी अनेमसंघकी नेतृ तथा सांसद थममाया थापाले बलात्कार, बोक्सी आरोप तथा जघन्य महिला हिंसाका घटना मिलापत्र गराउने क्रम देखिरहेकाले त्यसलाई निरुत्साहित गर्ने गरी कानून नै संशोधन गर्नुपर्ने बताएको जानकारी दिइन्। त्यसमा गृह मन्त्री थापाले पनि सही सुझाव भन्दै आफूले कानुन संशोधनको बारेमा महान्यायाधिवक्तासँग छलफल गर्ने बताएको उनले बताइन्।
उनीहरूले तीनै तहका सरकारलाई यस्ता घटना विरुद्ध सक्रिय बनाउन तथा प्रहरी प्रशासनलाइ क्रियाशिल बनाउन सुझाव दिइएकाे सांसद थापाले बताइन्।