नेपाली सेनाले गर्यो 'नेतृत्व संवाद' कार्यक्रमको शुरुआत
नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनका रुपमा स्थापित गर्दै लैजान उद्देश्यले यस वर्षको नेतृत्व सम्वाद कार्यक्रम शुरु गरेको छ। कार्यक्रममा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय, आठवटै पृतनाका पृतनापति एवं प्रधानसेनापति कार्यालयका स्टाफ सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालदेखि सेनाले यो कार्यक्रम शुरु गरेको हो। यो संवादमा सहभागीले मातहतका अधिकृत, पदिक तथा अन्य दर्जासँग तहगत र क्रमिक रुपमा मुलुकभर नै आगामी चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन हुनेछ।
विगतमा कमाण्डर, स्टाफ र फौजबीचमा प्रत्यक्ष सम्वाद गरिंदै आएकामा यसवर्ष भने कोभिड–१९ सङ्क्रमणको ख्याल गरी भर्चुअलमार्फत सञ्चालन कार्यक्रम भएको छ। ‘सिपाहीको योगदान: राष्ट्र र राष्ट्रवासीको उत्थान’ मूल सन्देशसहित आयोजित सो कार्यक्रमको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज शुभारम्भ गरेका हुन्।
यस वर्ष ‘सैनिक तालिम: वृत्ति विकास र पदोन्नतिको लागि हो कि दक्षता र क्षमता अभिवृद्धिको लागि’ ‘योगदान र प्रतिफल: कुन बढी महत्वपूर्ण–मैले नेपाली सेनालाई के दिएँ कि नेपाली सेनाले मलाई के दियो’ तथा ‘व्यक्तिगत र व्यावसायिक सम्बन्धः कर्तव्य परायणता र वफादारिता संस्थाप्रति कि व्यक्तिप्रति’ विषयमा नेतृत्व संवाद कार्यक्रम सञ्चालन हुनेछ।
सेनामा विद्यमान विभिन्न अभ्यास र प्रवृत्ति सम्बन्धमा सबै तहमा खुला छलफल गरी सङ्गठनहित विपरीतका गतिविधि हटाउँदै नेतृत्वलगायत सकल दर्जामा सैनिक आचरण, अनुशासन, मूल्यमान्यता र नैतिकतामा थप विकास गर्ने लक्ष्यले यो कार्यक्रम शुरु गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
अनुशासित, क्षमतावान, चरित्रवान एवं निष्ठावान सैनिक व्यक्ति, स्थायी र गतिशील पद्धति र प्रणालीमार्फत् सेनालाई भरपर्दो, विश्वसनीय साथै सक्षम सङ्गठन निर्माणमा यस कार्यक्रमले दिशानिर्देश गर्ने विश्वास लिएको सेनाले जनाएको छ।