लगातारको वर्षाका कारण रूपन्देहीको दक्षिणी भेग जलमग्न, शनिबारदेखि मौसममा सुधार आउने
तीनदेखि परिरहेको अविरल वर्षाका कारण रूपन्देहीका विभिन्न स्थानहरू जलमग्न भएका छन्। वस्तीमा पानी पसेपछि सुरक्षाकर्मीहरूले स्थानीयलाई उद्दार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जिल्लाको साँस्कृतिक नगरपालिका भर्तापुर भन्ने स्थानमा तिनाउ र दानव नदीको बाढी पसेपछि चार घरका स्थानीयलाई सुरक्षाकर्मीले सुरक्षित रूपमा उद्दार गरेका छन्।
त्यसैगरी, तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जको नदी किनारमा बनाइएको एउटा घर बगाएको छ। प्रेमकुमारी खाम्चाको ब्लकले बनाएको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
तिनाउ नदीले हिजो दिउँसोदेखि नै पानीको सतह सर्तकता तह पार गरेको थियो भने गएरातिदेखि नदी खरताको बिन्दुभन्दा माथि रहेको छ। अहिले पनि तिनाउ जलाधार क्षेत्रमा पानी पर्नेक्रम जारी छ। अहिले पनि तिनाउ बढ्ने क्रममा रहेको छ। अहिले तिनाउमा पानीको तह ५.६७ मिटर रहेको छ।
त्यसैगरी, नारायणी नदी पनि खतराको तहभन्दा माथि रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी वर्षा नवलपुर क्षेत्रको डण्डामा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार डण्डामा आज बिहान ८.४५ सम्म २३९ मिलिमिटर वर्षा मापन गरिएको छ।
अहिले पनि डण्डा क्षेत्रमा वर्षाको क्रम जारी छ। उक्त स्थानमा पछिल्लो ६ घण्टामा मात्र ५२.८ मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार १९६ वटा वर्षा मापन केन्द्रमध्ये १७९ वटा केन्द्रमा वर्षा भएको छ। वर्षा भएका १७९ केन्द्रमध्ये २ वटामा २०० मिलिमिटर वर्षा भएको छ भने ६ वटा केन्द्रमा १५० मिलिमिटर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि मौसममा सुधार आउने जनाएको छ।