राप्रपाले बनायो ७ सदस्यीय विधान मस्यौदा समिति
राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सदस्यीय विधान मस्यौदा समिति बनाएको छ। राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको बैठकले विधान मस्यौदा समिति गठन गरेको हो।
पार्टी एकताको आधारपत्रको भावना समेटेर १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन पेश गर्ने गरी निरञ्जन थापाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कार भद्रा र ध्रुबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
समितिको सदस्यहरूमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक छन्।
केहीदिन अघि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले राप्रपाको विधानलाई अन्तरिम विधान मानी पार्टी दर्ता गर्ने, चुनाव चिन्ह हलो राख्ने, रातो, पहेँलो र निलो रङको बीचमा गाई रहेको झण्डा प्रयोग गर्ने निर्णय गरेको थियो। साथै, एकता महाधिवेशन आउँदो २५–२८ वैशाख २०७८ मा गर्ने निर्णय समेत गरेको थियो।
अघिल्लो वर्ष, २८ फागुन २०७६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता घोषणा भएको थियो। एकता घोषणाका बेला थापा, जबरा र लोहनी अध्यक्ष रहने, ६ महीनाका लागि चुनाव चिन्ह स्थगित गर्ने, झण्डा थापा नेतृत्वको राप्रपाले प्रयोग गर्दै आएकोलाई प्रयोग गर्ने भनिएको थियो।
६ महीनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने भनिएको थियो।