भारतमा सोमबारबाट विद्यालय खोल्न केन्द्र सरकारको अनुमति, तर तीन राज्य मात्र इच्छुक
भारतमा केन्द्र सरकारले अनलक-४ अन्तर्गत करीब ६ महीनापछि सोमबारबाट विद्यालय खोल्न अनुमति दिए पनि तीन राज्य मात्र राजी भएका छन्। मध्यप्रदेश, राजस्थान र हरियाणा विद्यालय खोल्न राजी भएका हुन्।
केन्द्र सरकारले २१ नोभेम्बरदेखि विद्यालय खोल्न दिने भए पनि अन्तिम निर्णय राज्य सरकारले गर्छ। केन्द्र सरकारले ९ देखि १२ कक्षासम्म सञ्चालनको अनुमति दिएको हो।
तीन राज्य सरकार विद्यालय खोल्न सकारात्मक भए पनि ७० देखि ९० प्रतिशत अभिभावकले भने बच्चालाई विद्यालय पठाउन नचाहेको एक अध्ययनले देखाएको दैनिक भाष्करले उल्लेख गरेको छ। तर, राज्य सरकारहरुले स्वास्थ्य सचेतना अपनाएर विद्यालय खोल्ने निर्णय गरेका छन्।
ती विद्यालयहरुले सरसफाइ र भौतिक दूरी कायम गर्नुपर्नेछ। कापी, किताब, पेन्सिललगायत कुनै पनि सामग्री विद्यार्थीले एक अर्कालाई दिन पाउने छैनन्। कक्षाकोठा, शौचालय, प्रयोगशाला, पुस्तकालय लगायत स्थान 'स्यानिटाइज' गर्नुपर्नेछ।
विद्यालयहरुले खुला ठाउँमा पनि पढाउन सक्नेछन्। भित्र वा बाहिर जतै पनि हरेक क्षण विद्यार्थीलाई कम्तीमा ६ फुटको दूरी कायम गराउनुपर्नेछ। कक्षाका विद्यार्थीलाई शिक्षकले अनलाइन पनि पढाउन सक्नेछन्। तर, ५० प्रतिशत शिक्षक र कर्मचारी विद्यालयमा अनिवार्य आउनुपर्नेछ।
शिक्षक र कर्मचारीलाई विद्यालयले नै स्यानिटाइजर र फेस मास्क दिनेछ। विद्यार्थीको अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर, ज्वरो जाँच्न थर्मल गनलगायत सामग्री विद्यालयमा हुनुपर्नेछ।