ट्रेड यूनियन निर्वाचनमा स्थानीय र स्वास्थ्य सेवा समूहका कर्मचारीलाई वञ्चित गरिएकोमा विरोध
आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा स्थानीय र स्वास्थ्य सेवा समूहका कर्मचारीलाई मतदान अधिकारबाट वञ्चित गरिएको भन्दै नेपाल राष्टिय कर्मचारी संगठनले विरोध गरेको छ।
आगामी २४ असोजमा हुने आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा स्वास्थ्य र स्थानीय सेवाका कर्मचारीले मतदान गर्न नपाउने भएपछि संगठनले विरोध गरेको हो।
संगठनका महासचिव प्रभास प्रसाद साहद्वारा जारी विज्ञप्तीमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विज्ञापन भई निजामति सेवा ऐन २०४९ तथा निजामति सेवा नियमावली २०५० बमोजिम नियुक्ति भएका र कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न सेवा समूहबाट संघ प्रदेश र स्थानीय तहमा समायोजन भई एउटै कार्यालयमा बसेर काम गर्ने स्थानीय सेवा, स्वास्थ्य सेवा लगायतका कर्मचारीहरूलाई मतदान गर्नबाट बञ्चित गरिएबाट संगठनको गम्भीर ध्यानआकर्षण भएको उल्लेख छ।
संगठनले प्रदेश र स्थानीय तहमा समेत ट्रेड यूनियन अधिकारको सुनिश्चितता आवश्यक रहेकाले स्वास्थ्य लगायत निजामति सेवाका सबै सेवा समूह र तीनै तहमा ट्रेड यूनियन अधिकार प्राप्त गर्न राष्ट्रिय निजामति कितावखानामा दर्ता भएका सवै कर्मचारीहरूले निर्वाचनमा भाग लिन पाउने गरी वातावरण निर्माण गर्न माग गरेको छ।