केन्द्रले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाले हाजिर गराएन, भन्यो- 'अपांगता भएकाले काम गर्न सक्दैनन्'
![केन्द्रले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिकाले हाजिर गराएन, भन्यो- 'अपांगता भएकाले काम गर्न सक्दैनन्'](https://www.himalkhabar.com/uploads/posts/800X600/Doti_1598615244.png)
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत को रुपमा संघीय मामिला मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिर नगराई अन्यत्रै पठाउन मन्त्रालयमा पत्राचार गरेका छन्।
डडेल्धुराको आराताल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका नरेन्द्र सिंह ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डोटीको जोरायल गाउँपालिका सरुवा गरेको थियो।
२५ साउनमा सरुवाको पत्र पाएपछि ठगुन्नाले जोरायलका अध्यक्ष दुर्गादत्त ओझासँग आफू सरुवा भइ जोरायल आउन लागेको जानकारी गराउँदा नआउन भनेको बताए।
सरुवा भएको ठाउँमा २१ दिनभित्र पुग्नुपर्ने तर नआउन भनेको र आरातालमा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत नगइसकेकाले ठगुन्ना केही दिन त्यहीँ काम गरेर बसे। तर ४ भदौमा भने आरातालमा नयाँ प्रमुख प्रशासकीय अधिकृत गएपछि भने ठगुन्ना अप्ठ्यारोमा परे।
"फेरि जोरायलका अध्यक्षलाई म त्यहीँ आउँछु भनेर खबर गर्दा जबर्जस्ती आए कुनै हालतमा हाजिर गराउँदिन भन्नुभो", ठगुन्नाले भने, "बरु तपाईंले भनेको ठाउँमा सरुवाका लागि मन्त्रालयमा पत्र पठाएको छु भन्नुभो।"
ओझाले 'शारीरिक रुपमा अपांग भएको र अहिले फिल्डमा काम गर्न नसक्ने, आफ्नोमा निमित्त भए पनि अधिकृत स्तरकै कर्मचारी रहेको र समन्वय नगरी प्रक्रिया संगत ढंगले कर्मचारी नपठाएको' भन्ने व्यहोराको पत्र संघीय मामिला मन्त्रालयलाई पठाएका छन्। उक्त पत्र जोरायलका अध्यक्ष ओझाले ठगुन्नालाई पनि पठाएका छन्।
(जोरायल गाउँपालिकाका अध्यक्ष ओझाले मन्त्रालयमा पठाएको पत्र)
सो पत्रको व्यहोरामा भएको शारीरिक अपांगता, काम गर्न नसक्ने भन्ने व्यहोराले आफू तनावमा भएको ठगुन्नाले बताए। “एकातिर थाहा नै नपाई पत्र आयो, अर्कोतिर हाजिर गर्न नदिने, मन्त्रालयमा तीन पटक इमेल गरिसकेँ, फोन गरिरहन्छु। आज दिउँसो पनि फोन गरेको मन्त्रालयको फोन उठेन,” उनले भने।
जोरायल गाउँपालिकाका अध्यक्ष ओझाले आफूलाई प्रमुख प्रशासकीय अधिकृत नै नचाहिएको र समन्वय पनि नगरी पठाएकाले हाजिर नगराएको बताए। “सुदूरपश्चिम प्रदेशका वा कुनै पनि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन तर यहीँ मात्रै किन ? यहाँ ठूलै राजनीति छ। उहाँ (ठगुन्नाजी) ले पनि मागेको ठाउँमा नपठाएर यहाँ पठाएको रहेछ," उनले भने, "त्यसैले उहाँले भनेकै ठाउँमा पठाइदिन पत्राचार गरिदिएको हुँ।”
अध्यक्ष ओझाले अपांगता भएकै कारण हाजिर नगराएको नभएर आफूलाई जानकारी नदिएरै पठाएकाले र ठगुन्नाकै सजिलोको लागि शारीरिक अवस्था बारे खुलाएर पत्र पठाइदिएको तर्क गरे।
ठगुन्ना २०७३ सालमा आरक्षणतर्फबाट अपांगता भएका व्यक्तिको कोटाबाट शाखा अधिकृत भएका हुन्। ढाडसम्बन्धी समस्याका कारण आफू लामो समय उभिन र उकालो आरालो धेरै हिंड्न गाह्रो हुने भए पनि कामै गर्न नसकिने अवस्था भने नरहेको ठगुन्नाले बताए।
तर नियमित रुपमा थेरापी गर्नुपर्ने मेडिकल बोर्डको सिफारिससहितको निवेदन र सकेसम्म पायक पर्ने ठाउँमा सरुवा गरिदिन भने निवेदन दिएको उनले बताए।
तर संघीय मामिला मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने उनको बढुवा भएकाले अर्को ठाउँमा प्रतिस्थापन गरिएको बताए। "संघले पठाउने अधिकृत स्तरका कर्मचारीलाई सम्बन्धित कर्मचारी वा स्थानीय तहसँगको समन्वयमा पठाउने नभई आवश्यकता परेको ठाउँमा पठाउने हो. तर उहाँ कस्तो अपांगता भएको व्यक्ति हो भन्ने मन्त्रालयलाई थाहा छैन," उनले भने।
अधिकारीले ठगुन्नाले पठाएको इमेल/निवेदन हेर्न भने बाँकी रहेको बताए। उनले ठगुन्ना जोरायल नै जानुपर्ने र अध्यक्षले पनि हाजिर गराउँदिन भन्न नपाइने बताए।
सरुवा संसोधनका लागि ठगुन्नाले पठाएको पत्र
![](https://www.himalkhabar.com/uploads/editor/thagunna%20le%20mantralaya%20lai%20pathaeko%20patra.jpg)