कोरोना संक्रमणबाट बुधबार मृत्यु भएका ८ मध्ये ३ जना दीर्घरोगी
कोरोना संक्रमण भएर बुधबार मृत्यु भएका ८ जनामध्ये ३ जना दृघ रोगका बिरामी रहेका पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। यीमध्ये ३ जना मृतक दिर्घरोगी रहेको देखिएको हो।
२८ साउन बिहान काठमाडौं-१२ टेकुकी ७८ वर्षिया महिलाको किष्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई झाडापखाला र ज्वरोका लक्षणहरू देखिएपछि २६ साउमा किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको फिभर क्लिनिकबाट रेफर गरिएको थियो।
मन्त्रालयका अनुसार उनलाई उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टिक सक र मिर्गाैला रोगको समस्या थियो। २६ साउनमा पाटनमार्फत उनको स्वाब संकलन भएकोमा २८ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
त्यस्तै सप्तरी डाकेश्वरी–८ का ७२ वर्षीय पुरुषको २७ साउन राती कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। उनलाई चार दिनअघि ज्वरो आएपछि कारोना परिक्षणका लागि स्वाब संकलन गरेर परिक्षण गर्दा २७ साउनमा आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो।
कोरोना पुष्टि भएपछि अस्पताल लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार उनी थाइराइड, मधुमेह, उच्च रक्तचाप र मुटुका रोगी थिए।
यस्तै कोरोनाका कारण २८ साउनमा मृत्यु भएका ७५ वर्षिया पुरुष पनि दीर्घरोगी थिए। बारा कलैया उपमहानगरपालिकाका उनको शरिर कमजोर भएर बेहोस भएपछि २६ साउनमा उनलाई किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो।
२७ साउनमा उनको स्वाब संकलन गरेकामा २८ साउनमा आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।
स्वास्थ्य मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार उनलाई रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टिक सक, दम र मिर्गौला रोगको समस्या थियो।
त्यस्तै मृत्यु हुने अन्य बाँकी संक्रमितहरूमा ज्वरो, निमोनिया लगायतका स्वास्थ्य समस्या रहेको देखिएको मन्त्रालयले जनाएको छ।
विज्ञहरूले मुलुकमा कोरोना संक्रमितहरूको संख्या बढेसँगै दीर्घरोगीहरू उच्च जोखिममा रहेकाले उनीहरूको विशेष हेरचाह गर्नुपर्ने बताउँदै आएका छन्।