कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण रुपले काम गर्ने वातावरण मिलाउन माग
नेपाल चिकित्सक संघले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारमा खट्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण रुपले काम गर्ने वातावरणमा मिलाउन माग गरेको छ।
मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले कोरोना संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मी र चिकित्सकमाथि आक्रमण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको हमला कम गर्न मन्त्रिपरिषद्ले गरेको २२ चैत २०७६ को निर्णय र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ अनुसार दिर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रलाई शान्तीपूर्ण क्षेत्र घोषणा गर्न माग गरेको छ।
संघले पछिल्ला दिनहरूमा स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण भइरहेको र स्वास्थ्य उपचारका क्रममा कोरोनाका कारण संक्रमित भएको भन्दै उनीहरूको मनोबल उच्च पार्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ।
“चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा संक्रमण बढ्दै गइरहेकोले उनीहरूको उपचारको विशेष व्यवस्था गर्ने र नीजहरूको स्थानीय अस्पतालमा उपचार हुन नसकेमा तत्काल हवाई उद्दार गरी सुविधा सम्पन्न अस्पतालमा उपचार गराउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल मिलाउनु पर्ने,” संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका रेमडिसिभिर जस्ता अत्यावश्यक औषधीहरू उपलब्ध गराउन र कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आईसीयू बेडहरू र जनरल बेडहरूको संख्या बढाउन माग गरेको छ।
यस्तै संघले पर्सा जिल्लाका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले संचालन गरेको बिरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेको छ।
केही समयअघि वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण भएको थियो।