छिमेकीको अतिक्रमणकारी नीतिले सीमा समस्या : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरूको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले छिमेकिहरूको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन्।
सीमामा रहेका पिलरहरू उखेलेर फालिदिने, नेपालभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरूको रहेको भन्दै उनले यो प्रवृति नहट्दासम्म सीमा समस्या रहिरहने बताए।
"हाम्रा छिमेकीहरूको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारणहरू छन्। पिलरहरू उखेलेर फाल्दिने अथवा नेपालभित्र ल्याएर गाडने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडी एउटा कारण देखिन्छ," उनले भने।
सीमा विवाद समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने र नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने गृह मन्त्री थापाको भनाइ छ।
सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले जानकारी दिए। उनले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताए।
सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाइ छ। उनले नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको बताए।
सोही आधारमा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको पनि उनले बताए। सीमा समस्या समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको उनको भनाइ छ।