जसपा केन्द्रीय कार्यकारिणी सभाको पहिलो बैठक आजबाट शुरु
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सभाको पहिलो बैठक आजबाट शुरु हुँदैछ। ललितपुरको तुल्सीला स्मृति भवनमा बैठक शुरु हुन लागेको नेता राजेन्द्र श्रेष्ठले बताए।
उनका अनुसार, पार्टी एकीकरण भएपछि पहिलो पटक बस्ने यो बैठकले समायोजनको काम अगाडि बढाउनेछ। समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गउको ११ वैशाखमा पार्टी एकीकरण भएको हो। तर, बैठक बस्न भने सकेको थिएन।
५१ सदस्यीय रहेको कार्यकारिणी सभाको बैठकले पदाधिकारी समेत टुंग्याउने तयारी भएको छ। श्रेष्ठले भने, “माथि एकीकरण भएपनि तलसम्म एकीकरण हुन सकेको छैन भने विभागीय जिम्मेवारी पनि हुन सकेको छैन, यो बैठकले त्यो काम गर्छ।”
नेता केशव झाले पार्टी एकीकरणको थप मापदण्ड निर्माण गर्ने बताए। तर, पहिलो पटक बस्न लागेकाे बैठक नै नेकपाका नेताहरुले चलाउँदै आएको तुल्सीलाल स्मृति भवनमा राखिएको छ। पार्टी कार्यालय नजिक परेको र उक्त भवन व्यावसायिक प्रयोजनमा लगाउने गरिएकाले बैठक त्यहाँ राखिएको झाले बताए।