अपशब्द बोल्ने गाउँपालिका अध्यक्षलाई नेकपाको स्पष्टीकरण
बझाङको मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले स्थानीयलाई अपशब्द प्रयोग गरेर गाली गरेपछि पार्टीले कारवाही गर्ने भएको छ।
नेकपा बझाङले एक विज्ञप्ति प्रकाशित गरी कठायतको सामाजिक सञ्जालहरूमा प्रसारण भएको भिडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै ५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। गाउँपालिका अध्यक्ष कठायत नेकपाका जिल्ला सदस्य समेत हुन्।
शनिबार सार्वजनिक भएको भिडियोमा उनले स्थानीय एक वृद्धलाई अपशब्द प्रयोग गरेर गाली गर्दै कुटपिट समेत गर्न खोजेको देखिन्छ।
जिल्ला अध्यक्ष मिनबहादुर कुँवर र सचिव दिलबहादुर सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, "सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोबारे पार्टीले अनुसन्धान गर्ने तथा अध्यक्ष कठायतलाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न र ३ भदौमा बस्ने सचिवालयको बैठकबाट पार्टीको नियमावली र विधान अनुसार कारबाही गर्ने निर्णय कार्यालयको बैठकले गरेको छ।"
पार्टी अध्यक्ष कुँवरले घटनाबारे अनुसन्धान गरिरहेको र विवादको विषय जे भए पनि सरकार प्रमुख जस्तो मान्छेको व्यवहार अस्वभाविक भएकाले स्पष्टीकरणमा आउने जवाफ अनुसार कारबाही हुने बताए।
“हामीले पनि भिडियो हेर्दा त्यो पदमा बसेको व्यक्तिले गर्नै नहुने व्यवहार र कसैले पनि बोल्नै नहुने शब्दहरू प्रयोग गरेको सुन्यौं । त्यो कुनै पनि अवस्थामा क्षम्य हुने व्यवहार होइन । सार्वजनिक वक्तव्य पनि निकालि सकेका छौं, तर कुन तहको कारबाही गर्ने भन्ने अनुसन्धान गरेर पार्टीको बैठकले निर्णय गर्छ,” उनले हिमालखबरसँग टेलिफोनमा भने।
कुँवरले पहिले गाउँको ‘मुखिया’ भएको र सार्वजनिक जग्गा मिच्ने गरेको भन्दै अहिले पनि जग्गा गाउँपालिकाले उपयोग गर्ने विषयमा विवाद भएको जानकारी पाएको बताए।
वडा नम्बर २ का वडाध्यक्ष शेरबहादुर खड्काका अनुसार गाउँपालिका अध्यक्ष कठायतले अपशब्दको प्रयोग गरेर झगठा गरेका व्यक्ति मष्टा गाउँपालिकाकै वडा नम्बर २ का पिरु रोकाय हुन्।