टिप्पणी मंगलबार, असार ३०, २०७७

यौनिकता: अपाङ्गता भएकाको पनि अधिकार हाे

हिमालखबर

यौनिकता:  अपाङ्गता भएकाको  पनि अधिकार हाे

यौनिकतालाई बच्चा जन्माउने, गर्भवती र सुत्केरी हुने पाटोमै सीमित गरिदिएको हाम्रो समाजमा अपांगता भएका महिलाको चाहना र भावना ठट्टा वा उपेक्षाको विषय बनिरहेको छ।

अपाङ्गता भएका व्यक्तिहरूलाई गाँस, बास र कपासको सुनिश्चितता भए सबै अधिकार प्राप्त भएको ठान्ने हाम्रो सामाजिक चिन्तन छ। यो बुझाइले यौनिकताको अधिकारलाई गौण बनाइदिएको छ। नेपाली समाजले यौनिकतालाई बच्चा जन्माउने, गर्भवती र सुत्केरी हुने विषयमै सीमित सोचिदिनाले यौनिकताको बहस खुलेर प्रस्फुटन हुन पाएको छैन। त्यसमा पनि अपाङ्गता भएका महिलाको यौनिकतालाई समग्र महिलाको भन्दा फरक सवालको रूपमा हेर्ने गरिन्छ। मानौं यो समूहमा यौन चाहना हुनु भनेको कुनै प्रकोप वा बज्रपात सरह हो!

अपाङ्गता भएका महिलाहरू अपाङ्गतासँगै लैङ्गिकता, सांस्कृतिक मूल्यमान्यता आदिका कारण बहुविभेदको शिकार भइरहेका छन्। बहुविभेदको सामना गरेको यो वर्गले यौनिकतालाई प्रस्फुटन गराउने र सो अधिकार उपयोग गर्ने कुरा ‘आकाशको फल आँखा तरी मर’ जस्तो भएको छ।

हामीकहाँ अपाङ्गता र अक्षमतालाई जोडेर हेर्ने प्रवृत्ति छ। जसका आधारमा यौनिकताको सवालमा त्यही तर्क अगाडि सारिन्छ वा यौनिकतालाई असम्बन्धित विषय ठानिन्छ।

अपाङ्गता र यौनिकताको सन्दर्भ जोड्दा सबैभन्दा पहिले यौनिकतालाई बुझ्नुपर्छ। यौनिकताले यौन, लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण, आनन्द, घनिष्ठता र प्रजनन जस्ता पाटो समेट्छ। यौनिकता मानिसको विचार, कल्पना, इच्छा, विश्वास, सोच, मूल्यमान्यता, व्यवहार, भूमिका र सम्बन्धहरूबाट अनुभव वा व्यक्त गर्न सकिन्छ।

हामीकहाँ अपाङ्गता र अक्षमतालाई जोडेर हेर्ने प्रवृत्ति छ। जसका आधारमा यौनिकताको सवालमा त्यही तर्क अगाडि सारिन्छ वा यौनिकतालाई असम्बन्धित विषय ठानिन्छ। यहाँ एक दृष्टिविहीन महिलाको अनुभव उल्लेख गरौं- “मलाई स्कर्ट लगाउन सारै मन पर्छ। एक दिन मैले स्कर्ट लगाएर बाहिर निस्कन खोज्दा एक जना दिदीले भन्नुभयो– ‘तिमी यति राम्री छ्यौ, त्यसैले तिमीले आफूलाई सुहाउने पहिरन नलगाउनू, केटाहरूको गिद्धे नजर गड्छ र तिमीलाई हिंसा हुन सक्छ।’ मैले त्यस्तो हुँदैन भनेर प्रतिकार गर्न सकिनँ, किनभने मलाई हिंसा नामक अस्त्रले पहिले नै घाइते पारेको थियो।”

मकवानपुरकी अर्की एक दृष्टिविहीन महिलाले भनिन्, “म गाजल, लिपिस्टिक र नङ पालिसमा सजिएर एउटा कार्यक्रममा जाँदा एक जना दाजुले ‘तिमी आँखा देख्दिनौ भने किन यसरी सजिएकी ? तिमी सजिनु भनेको बिजुलीको उज्यालोमा टुकी बाल्नु जस्तै हो’ भन्नुभयो। त्यस दिनपछि मलाई पार्टीहरूमा जानुपर्दा पनि दिक्क लाग्छ, कसैले कुनै कार्यक्रममा बोलायो भने पनि कुनै अपराध गरेको अपराधीसरह महसूस हुन्छ।”

यौन चाहनाबारे भ्रम र मजाक

बौद्धिक अपाङ्गता भएका महिलाहरूलाई अपाङ्गताको गम्भीरताको कारण दैनिक जीवनयापनमा दिसा धोइदिने, महीनावारी भएको वेला स्यानिटरी प्याड फेरिदिने काम उनीहरूको आमाले गर्छन्। आमा वा परिवारका अन्य महिला सदस्यको अनुपस्थितिमा बाबु वा अन्य पुरुष सदस्यहरूले समेत प्याड फेरिदिने गर्छन्। जसले गर्दा उनीहरूको गुप्ताङ्ग सबैले देख्ने गर्छन्। उनीहरूलाई गोपनीयताको ज्ञान हुँदैन र असल र खराब छुवाइको बारेमा समेत ज्ञान हुँदैन। यो अज्ञानता र अबोधपनलाई गलत रूपमा अथ्र्याउँदै बौद्धिक अपाङ्गता भएका महिलाहरू तीव्र यौन चाहना भएका हुन्छन् भनेर भ्रम सिर्जना गरेको छ।

अपांगता भएका महिलाहरू ठट्टाको हल्काफुल्का विषय बनिरहन्छन्। केही अनौपचारिक छलफलहरूमा ‘स्पाइनल इन्जुरी भएका महिलाहरूमा यौन उत्तेजना आउँछ कि आउँदैन होला, कुनै एक महिलासँग परीक्षण गर्न पाए पनि हुन्थ्यो’ भनेर खिल्ली उडाइन्छ। यस्ता मजाक सोही प्रकारको अपाङ्गता भएका पुरुषको सवालमा लागू हुँदैन।

यो वर्गलाई हुने बलात्कार र अनिश्चित गर्भाधान रोक्न घरपरिवारले परामर्शविना नै गर्भनिरोधक साधनहरू लगाइदिने, पाठेघर फालिदिने वा जबरजस्ती बन्ध्याकरण गरिदिने गर्छन्। तर यसले समाधान दिनेभन्दा थप समस्या बल्झाउन सक्छ। यदि कुनै आफन्त वा नजिकका छिमेकीले ती महिलालाई विगतमा बलात्कार गरिरहन्थ्यो र अब उसले ती महिलाले गर्भाधान रोक्ने साधनको प्रयोग वा बन्ध्याकरण गरेको सूचना पायो भने उसलाई त अझ बलात्कार गर्ने प्रोत्साहन मिल्छ। र, एउटा अपराधी अपराध गर्दै उम्किरहन सफल हुन्छ।

अपांगता भएका महिलाहरू ठट्टाको हल्काफुल्का विषय बनिरहन्छन्। केही अनौपचारिक छलफलहरूमा ‘स्पाइनल इन्जुरी भएका महिलाहरूमा यौन उत्तेजना आउँछ कि आउँदैन होला, कुनै एक महिलासँग परीक्षण गर्न पाए पनि हुन्थ्यो’ भनेर खिल्ली उडाइन्छ। यस्ता मजाक सोही प्रकारको अपाङ्गता भएका पुरुषको सवालमा लागू हुँदैन।

यौनिकता के हो भन्नेबारे पनि विभिन्न किसिमका अपांगता भएका व्यक्तिहरूले जान्न/बुझ्न पाउँदैनन्। यसको कारण हो, यौनिकताको विषयमा सचेतना विस्तार गर्ने उद्देश्यले तयार पारिएका सामग्रीहरू बहिरा, दृष्टिविहीन, अटिजम र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले पढ्ने र बुझ्ने ढाँचा तथा पहुँचमा नहुनु। विद्यालय तहमा स्वास्थ्य, जनसंख्या विषय अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य, प्रजनन प्रणाली आदिबारे पढाइ त हुन्छ, तर शिक्षकहरूले बोर्डमा चित्र मात्र बनाएर छोडिदिनाले र विद्यार्थीलाई प्रश्नोत्तर गर्ने मौका नदिनाले कक्षामा दृष्टिविहीन विद्यार्थी बोर्डमा मार्करको आवाज सुनेर बस्न बाध्य हुन्छन्।

अपाङ्गता भएका महिलाहरूको यौनिकताको सवाललाई अझै पनि अधिकारमुखी अवधारणाबाट अवलम्बन गरिएको छैन। यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था र मूलप्रवाहीकरणमा रहेका महिला आन्दोलनले नेतृत्व गरेका संघसंस्थाको कार्यक्रमहरूमा अपाङ्गता भएका केही महिलाहरूको प्रतिनिधित्व भए तापनि त्यो सहभागितामै सीमित छ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि र महिलामाथि हुने सबै प्रकारका भेदभाव सम्बन्धी महासन्धिहरूको अनुमोदन भइसकेको छ। दिगो विकासको लक्ष्यमा सहमति र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐनहरू पनि लागू भइसकेका छन्। यद्यपि, अपाङ्गता भएका महिलाहरूको यौनिकताको सवाललाई अझै पनि अधिकारमुखी अवधारणाबाट अवलम्बन गरिएको छैन। यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था र मूलप्रवाहीकरणमा रहेका महिला आन्दोलनले नेतृत्व गरेका संघसंस्थाको कार्यक्रमहरूमा अपाङ्गता भएका केही महिलाहरूको प्रतिनिधित्व भए तापनि त्यो सहभागितामै सीमित छ।

अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाले यौन तथा प्रजनन स्वास्थ्य अधिकार भनेर छिटपुट मात्रामा केही क्रियाकलाप सञ्चालन गरे पनि त्यहाँ अपाङ्गता भएका महिलाको यौनिकतासँग सम्बन्धित विषयले खासै स्थान पाउँदैन। अन्तरक्रियात्मक कार्यक्रमहरूमा अपाङ्गता भएका महिलाहरूको सहभागिता भए पनि मुख्य सवालमा खुलेर कुरा गर्ने वातावरणको सुनिश्चितता हुँदैन। त्यस्तो सहभागिता अपाङ्गता भएका महिलाहरूको समावेशिता देखाउन मात्र केन्द्रित हुन्छन्। अपाङ्गता भएका महिलाहरूले सवाल उठाए पनि कार्यक्रम पश्चात् सहकर्मीहरूबाट निरन्तर भइरहने व्यङ्ग्य र व्यक्तिगत चरित्रसँग जोडेर हुने कुराकानीका कारण अपाङ्गता भएका महिलाहरू यो सवालमा प्रायः मौन रहन्छन्। त्यसमा पनि अपाङ्गता भएका अविवाहित महिलाले यौनिकतामा बहस चलाए विवाहको इच्छा भएर आफ्नो विज्ञापन गरेको भनेर खिल्ली उडाइन्छ।

यी विभिन्न कारणले अपाङ्गता भएका महिलाहरूको यौनिकतासँग सम्बद्ध सवालहरू छायाँमा परेका छन्। अपाङ्गता भएका महिलाहरूको यौनिकता पनि आधारभूत अधिकारको रूपमा स्थापित गर्न बोलीमा मात्र होइन, व्यवहारमै समानता र समावेशिताको प्रत्याभूति हुनुपर्छ।

(लामिछाने प्रयत्न नेपाल संस्थाकी संस्थापक अध्यक्ष हुन्।)

प्रतिकृया दिनुहोस