टिप्पणी विहीबार, असार २५, २०७७

खोटाङको एउटा स्कूल, जहाँ विद्यार्थीले पढाइसँगै १०० सीप सिक्छन् !

हिमालखबर

खोटाङको एउटा स्कूल, जहाँ विद्यार्थीले पढाइसँगै १०० सीप सिक्छन् !
जनजागृति आधारभूत आवासीय विद्यालय, दिक्तेल।

ढिलोचाँडो शिक्षाका सरोकारवालाहरूले व्यावहारिक शिक्षाको महत्व बुझी सोही अनुरूपको शिक्षणसिकाइ शुरू गरेर नेपाली शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्न जरूरी छ ।

कोभिड–१९ को संक्रमणबाट बच्न नेपालसहित विश्वका धेरै मुलुकले बन्दाबन्दी घोषणा गरे। बन्दाबन्दी शुरू भएयता शैक्षिक संस्थालगायत सबै आर्थिक गतिविधि बन्द भए। नेपालसहितका कतिपय मुलुकमा भने केही सातादेखि विस्तारै बन्दाबन्दी खुकुलो हुँदै गए पनि शैक्षिक संस्थाहरू खुल्ने अझै निश्चित भइसकेको छैन।

नेपालको पूर्वी जिल्ला खोटाङको दिक्तेलस्थित जनजागृति आधारभूत आवासीय विद्यालयलाई भने लकडाउनले प्रभाव पारेन। उक्त विद्यालय दुई दशक अघिदेखि शुभम् फाउन्डेशनले सञ्चालन गर्दै आएको छ।

मधु राई

फाउण्डेशनका संस्थापक कृषिविज्ञ मदन राई भन्छन्, “विद्यालय विभिन्न जातजाति र धर्मका विद्यार्थीलाई सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक सीप सिकाउने उद्देश्यले स्थापना गरिएको हो।”

उक्त सामुदायिक विद्यालयमा अहिले ४० जिल्लाका १५० जना विद्यार्थी अध्ययन गरिरहेका छन्। संस्थापक राई साबिकभन्दा बन्दाबन्दी शुरू भएयता धेरै काम गर्न भ्याइएको बताउँछन्। उनका अनुसार यस विद्यालयमा उमेर अनुसारको सीप सिकाउने गरिन्छ। एसईई परीक्षा दिने वेलासम्ममा हरेक विद्यार्थीले १०० वटा जीवनोपयोगी सीप सिकिसकेका हुन्छन्।

यस्ता सीप सिक्ने विद्यार्थी स्वदेशमै स्वरोजगार बन्न सक्ने दाबी पनि संस्थापक राईको छ। यसरी सिक्दै पढ्ने गरेका विद्यार्थीमध्ये गत वर्षको एसईई परीक्षामा सारा राई जिल्लामै प्रथम भएकी थिइन्।

व्यावहारिक शिक्षालाई बढी महत्व दिंदै आएको यस विद्यालयले आफ्ना शिक्षक तथा मेन्टरहरूलाई त्यसै अनुरूप प्रशिक्षण दिंदै आएको छ।

विद्यालयको कार्यतालिका बिहान ५ बजेदेखि शुरू हुन्छ। त्यसमा पहिले शिक्षक तथा ‘मेन्टर’हरूले विद्यार्थीलाई प्रभातकालीन हिंडाइमा लान्छन्। फर्केर आएपछि उनीहरू कोही नृत्य र कोही कराँते सिक्न थाल्छन्।

बिहान ७ बजेको घन्टी बजेपछि सबै जना भान्सासँगै जोडिएको हलमा पुगेर खाजा खाई आआफ्नो थाल, गिलास र बटुका सफा गरेर राख्छन्। त्यसपछि मेन्टर र शिक्षकहरूले अघिल्लो दिन उनीहरूलाई समूह विभाजन गरी अह्राएको काम गर्न थाल्छन्।

उक्त विद्यालयमा बिहान पाँचबजे उठेदेखि विद्यार्थी विभिन्न समूहमा विभक्त भई काम गरिरहेका हुन्छन्। कोही खाना पकाउन थाल्छन् त कोही बस्तुभाउ चराउन। बारी खनजोत गर्ने, तरकारी टिप्ने, सिलाइको काम, रङ–रोगन गर्ने र सरसफाइको काम पनि विभिन्न समूहका विद्यार्थीले गरिरहेका हुन्छन्।

यस्तै हरेक शुक्रबार बेलुकी गीत–संगीतमा रुचि राख्ने विद्यार्थीले सांगीतिक कार्यक्रम गर्छन्। अधिकांश विद्यार्थीको घर टाढा भएकाले दशैंतिहारको बिदामा उनीहरू विद्यालयमै दशैंतिहार मनाउने गर्छन्।

विद्यार्थी र विद्यालयलाई चाहिने सामग्री उनीहरू आफैंले तयार गर्छन्। विद्यार्थीले लगाउने कपडा सिलाउन एकजना शिक्षक राखिएको छ। ती शिक्षकले सिलाइमा रुचि राख्नेहरूलाई सिलाइ सिकाउँछन्।

यस्तै विद्यालय भवन बनाउँदा चाहिने झ्यालढोका आदि विद्यार्थीले नै तयार गर्छन्। विद्यालयमै काठमिल र  अन्न कुटानी–पिसानीका लागि छुट्टै मिल राखिएको छ।

हालै निर्मित विद्यालय भवनसमेत बाहिरका केही सिकर्मी र डकर्मी राखेर ठूला विद्यार्थीको संलग्नतामा बनाइएको हो।

विद्यालयमा आउने पाहुनाको स्वागत सत्कारका लागि पनि विद्यार्थी सधैं तत्पर देखिन्छन्।

कतिपय स्वदेशी र विदेशी पाहुनाहरूले पनि यहाँका विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने गर्छन्। विद्यालय व्यवस्थापनले यस्तो सीप सिक्ने र सिकाउने वातावरण तयार गर्दै आएको विद्यालयकी संयोजक उषाकिरण राई बताउँछिन्।

सोही क्रममा अवलोकन भ्रमणका लागि गएको सरिता इन्द्र पूर्वप्राथमिक शिक्षण विद्यालय विराटनगरका शिक्षकहरूले पनि त्यहाँका विद्यार्थीलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा विद्यार्थीले पहिलो दिन कागज र प्लाष्टिकजन्य फोहोरबाट विभिन्न घरायसी, कार्यालय तथा शैक्षिक सामग्री बनाउन सिके। मिनरल वाटर र चिसो पेयको जम्बो बोतल पुनः प्रयोग गर्ने सीप पनि सिके। दोस्रो दिन भान्सामा काम सघाउने विद्यार्थी र संयोजक राईलाई विभिन्न परिकार बनाउन सिकाइएको थियो। त्यसक्रममा उनीहरूले कोदोको मोमो र सेल पकाएका थिए।

त्यसैगरी विद्यालयमा आइपुगेका फ्रान्सेली शिक्षक र चिकित्सकहरूले केहीलाई कपडाको स–साना पर्स र केहीलाई 'ग्रिटिङ्स कार्ड' बनाउन सिकाएका थिए।

यसरी दिउँसो सिकेका सीपलगायत दिनभरिका क्रियाकलाप समेटेर बेलुकी आआफ्ना डायरीमा विद्यार्थीले दैनिकी पनि लेख्ने गर्दा रहेछन्।

स्वदेशी वा विदेशी पाहुना मात्रै होइन, अहिलेसम्म १५–२० वटा विद्यालयले उक्त स्कूलको अवलोकन भ्रमण गरिसकेका छन्।

विद्यालयका निर्देशक सूर्य राई भन्छन्, “अहिलेसम्म सरकारी, गैरसरकारी तथा सहकारी संस्थाका प्रतिनिधि र स्वदेशी तथा विदेशी पाहुना समेत गरी एक हजार बढीले अवलोकन भ्रमण गरिसकेका छन्।”

मूलधारको शिक्षा प्रणालीभन्दा नितान्त फरक तरिकाले सिक्दै पढ्दै गरिरहेका यस स्कूलका विद्यार्थीले कक्षागत रूपमा विषयवस्तुमा आधारित पाठहरू शिक्षक र मेन्टरको सहयोगमा बिहान, अपराह्न र बेलुका समय मिलाएर पढ्ने गरेको प्रधानाध्यापक सविता ढकाल बताउँछिन्।

स्रोतसाधन सम्पन्न बनाउन तीनै तहको सरकारले भौतिक संरचनामा मात्रै बढी लगानी गरेको देखिन्छ। यसरी भौतिक संरचनामा मात्र लगानी गर्नु भनेको फेरि पनि व्यावहारिक शिक्षालाई बेवास्ता गर्नु हो।

नेपालमा दिइने शिक्षा उत्पादनमूलक हुन नसक्नुका थुप्रै कारणमध्ये एउटा प्रमुख कारण भनेको सैद्धान्तिक शिक्षालाई मात्र मलजल र व्यावहारिक शिक्षालाई बेवास्ता गर्नु हो।

दुई तिहाइको सरकारले नमूना विद्यालय बनाउने भनेर जिल्ला जिल्लामा अभियान थालेको समाचार वेलावेला जनसमक्ष आउने गरेको छ। कतिपय सामुदायिक विद्यालय छनोटमा पनि परेका छन्। यस्ता विद्यालयलाई स्रोतसाधन सम्पन्न बनाउन तीनै तहको सरकारले भौतिक संरचनामा मात्रै बढी लगानी गरेको देखिन्छ। यसरी भौतिक संरचनामा मात्र लगानी गर्नु भनेको फेरि पनि व्यावहारिक शिक्षालाई बेवास्ता गर्नु हो।

विराटनगर महानगरपालिकाले गत वर्ष नगरभित्रका जम्मा दशवटा विद्यालयलाई नमूना विद्यालय बनाउने भनेर रणनीतिक योजना अघि सारेको नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडा बताउँछन्। उनका अनुसार यस्ता नमूना विद्यालयलाई रु.५० लाख दिइने गरेको छ।

हाल अधिराज्यभरि छनोटमा परेका नमूना विद्यालयहरूले गर्दै आएको क्रियाकलाप जनसमक्ष नआएका कारण यस्ता नमूना विद्यालय अरूका लागि अनुकरणीय बन्न नसकेका हुन्।

शिक्षालाई जीवन र जगतसँग जोड्न व्यावहारिक शिक्षा अपरिहार्य हुन्छ। औपचारिक शिक्षालाई उत्पादनसँग जोड्ने कार्यमा प्रधानाध्यापक, शिक्षकलगायत विद्यालय व्यवस्थापन समितिका सदस्य स्वयंको सक्रियता विना संभव हुँदैन।

शिक्षालाई जीवन, जगत र उत्पादनसँग जोड्नुपर्छ भनेर वेलावेला जनसमक्ष व्यावहारिक शिक्षाको पैरवी गर्दै आएका कृषिविज्ञ मदन राईहरू जस्ताको स्वर नीतिनिर्माताहरूको कानसम्म पुग्दैन। कथंकदाचित पुगे पनि यस्ता विषयमा शिक्षाका सरोकारवालाहरूले बृहत् छलफल चलाउनुपर्ने आवश्यकता महसूस गरेको देखिंदैन।

शिक्षा क्षेत्रमा अझै सैद्धान्तिक शिक्षाकै खेती गर्नुपर्छ भन्नेहरूकै बोलवाला छ। व्यावहारिक शिक्षा सम्बन्धी बृहत् छलफल नहुँदाको दूरगामी परिणाम समग्र नेपाली शिक्षाले भोगिरहेको छ।

लामो इतिहास बोकेको वर्तमान शिक्षा प्रणालीलाई जीवन र जगतसँग जोड्न विद्यार्थीलाई व्यावहारिक शिक्षा दिनु जरूरी छ। विद्यार्थीलाई विषयगत व्यावहारिक ज्ञान दिन शिक्षक स्वयंले पनि व्यावहारिक ज्ञान हासिल गरेको हुनुपर्छ।

फलतः बाल्यकालदेखि किशोरावस्थासम्म सिक्दै पढ्ने अवसर नपाएका लाखौं नेपाली विद्यार्थी आज अदक्ष कामदारको रूपमा परिणत भएका छन्। हाम्रा शैक्षिक संस्थाहरू शिक्षित बेरोजगार तयार गर्ने पहिलो थलो बन्दै छन्।

यसका साथै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन पनि विद्यार्थीले सिक्ने र शिक्षकले सिकाउने वातावरण तयार गरिदिन अग्रसर हुनुपर्छ। अधिकांश विद्यालयमा प्रधानाध्यापक लगायत शिक्षक स्वयं इच्छुक नहु“दा विद्यार्थीले व्यावहारिक भन्दा पनि सैद्धान्तिक ज्ञान मात्र पाइरहेका छन्।

फलतः बाल्यकालदेखि किशोरावस्थासम्म सिक्दै पढ्ने अवसर नपाएका लाखौं नेपाली विद्यार्थी आज अदक्ष कामदारको रूपमा परिणत भएका छन्। हाम्रा शैक्षिक संस्थाहरू शिक्षित बेरोजगार तयार गर्ने पहिलो थलो बन्दै छन्।

नेपाली शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्न दुई दशकअघि कृषिविज्ञ मदन राईले स्थापना गरेको उक्त नमूना विद्यालय जस्तै अरू विद्यालय स्थापना गर्नु जरूरी छ। तीनै तहका सरकारले त्यस्ता विद्यालय बनाउने रणनीतिक योजना बनाई कार्यान्वयन गर्ने हो भने व्यावहारिक शिक्षाको शुरूआत हुन कठिन छैन। व्यावहारिक शिक्षाको शुरूआत हुनु भनेको वर्तमान शिक्षालाई उत्पादनसँग जोड्नु हो।

प्रतिकृया दिनुहोस