नेपालको अर्थतन्त्र बलियो बनाउन काम गर्नुस् -मन्त्री अर्याल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको अर्थतन्त्र बलियो बनाउने गरी काम गर्न सहकारी क्षेत्रलाई आग्रह गरेकी छिन् ।
९८औं अन्तराष्ट्रिय सहकारी दिवस तथा २७औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा आज राष्ट्रिय सहकारी महासंघ लिमिटेडले ललितपुरमा गरेको कार्यक्रममा मन्त्री अर्यालले अहिले अर्थतन्त्र निकै कमजोर भएका बेला सहकारी मुख्य आधार हुने बताइन् ।
उनले भनिन्, "सहकारीसँग ठूलो पुँजी छ । त्यसलाई परिचालन गरेर हामीले रोजगारीमूलक क्षेत्रमा लगानी गर्न सक्छौ’ तर सहकारी क्षेत्रका सम्भावित बित्तिय जोखिमलाई नियन्त्रण गर्न पनि समयमै सचेत हुनुपर्छ ।"
सहकारीको संख्या धेरै भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन हुने भन्दै स्वनियमनका कार्यलाई पनि अगाडी बढाउन पनि उनले आग्रह गरिन् ।
सहकारीसँग सम्बन्धित केही कानुनहरु संशोधन गर्नुपर्ने भएकाले आजको आवश्यकता अनुसार ऐन संशोधन गर्न अगाडि बढिरहँदा पनि टुंग्याउन नसकिएको मन्त्री अर्यालको भनाइ छ । तपाईंहरु एकमत भएर टुंग्याइदिनुस्, मेरो बिनम्रतापुर्वक आग्रह छ । डेढ वर्ष भयो यत्रो समयसम्म टुंगिनै नसक्ने शोभनिय कुरा होइन, मन्त्री अर्यालको भनाइ थियो ।