समाचार विहीबार, असार १८, २०७७

क्यान विवाद मिलाउन भूमिका खेलेका ख्वाजा आईसीसीको कार्यबाहक अध्यक्ष

हिमालखबर

क्यान विवाद मिलाउन भूमिका खेलेका ख्वाजा आईसीसीको कार्यबाहक अध्यक्ष
गत वर्ष भदौमा नेपाल भ्रमणका क्रममा राखेप सदस्य सचिव रमेश सिलवाल (बायाँ) सँग भेट गर्दै ख्वाजा (बीचमा) । तस्वीरः बीबीसी नेपाली सेवा

नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलाएर निलम्बन फुकुवा गर्न महत्वपूर्ण भूमिका खेलेका इमरान ख्वाजा अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यबाहक अध्यक्ष नियुक्त भएका छन् ।

आईसीसी अध्यक्ष शशांक मनोहरले दुई वर्ष कार्यकाल सकिएपछि राजीनामा गरेका छन् । आईसीसीको दोस्रो कार्यकाल सकिएलगत्तै उनले बुधबार राजीनामा गरेका हुन् । त्यसलगत्तैको बोर्ड बैठकले अर्को अध्यक्ष चयन नभएसम्मका लागि उपाध्यक्ष ख्वाजालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने सहमति गरेको छ ।

आईसीसीमा तीन कार्यकाल अध्यक्ष हुन पाउने व्यवस्था भए पनि भारतीय नागरिक मनोहरले दुई कार्यकालपछि नै राजीनामा दिएका हुन् । अब अध्यक्षको निर्वाचनका लागि अर्को साताभित्रै बोर्डले प्रक्रिया सुरु गर्नेछ । वकिलसमेत रहेका ख्वाजा सिंगापुरका नागरिक हुन् ।

तीन वर्षअघि नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजीत श्रीपाली लगायतसँग ख्वाजा सम्मिलित आईसीसी टोली ।

ख्वाजा पटक पटक नेपाल आएका छन् । उनले पछिल्लो पटक गत वर्ष भदौमा नेपाल भ्रमण गरेका थिए । त्यति बेला पनि उनी आईसीसी कार्यबाहक अध्यक्ष थिए । उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, क्यान निर्वाचनका लागि गठित स्वतन्त्र समितिका पदाधिकारी लगायतसँग छलफल गरेका थिए ।

त्यही छलफलले क्यानको नयाँ निर्वाचनमा सहमति जुटाएको थियो । साथै निर्वाचनपछि आईसीसीको निलम्बन फुकुवाका लागि प्रस्ताव राख्ने ख्वाजाले बताएका थिए ।

क्यान विवाद मिलाउन उनी २०७४ को माघ र साउनमा दुई पटक नेपाल आए । साउनमा विवाद समाधानका लागि गठित ‘एड्भाइजरी कमिटी’ सँग छलफल गरेका थिए । उनले क्यानको संसोधित विधानलाई औपचारिकता दिन साधारण सभा गर्नुपर्ने सल्लाह दिएका थिए ।

माघमा सल्लाहकार समिति र राखेपका तत्कालीन सदस्यसचिव केशरकुमार विष्टसँग छलफल गरेका थिए । उनी भदौ २०७३ मा पनि क्यान विवाद समाधानका लागि नेपाल आएका थिए । त्यति बेला आईसीसी प्रमुख कार्यकारी अधिकृत डेबिट रिचर्डसनको नेतृत्वमा आएको टोलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र खेलकुद मन्त्री दलजित श्रीपालीसँग पनि भेटेको थियो ।

प्रतिकृया दिनुहोस