समाचारमा आएको प्रतिक्रियाकै कारण मलेशियाका पत्रकार गानविरुद्ध अदालतको अवहेलना मुद्दा
मलेशियाको अनलाइन पत्रिका मलेशियाकिनीका प्रधान सम्पादक स्टेभन गानविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ। बुधबार महान्यायाधिवक्ता इद्रस हारुनद्वारा पुत्रजयास्थित संघीय अदालतमा उनी विरुद्ध मुद्दा दायर गरिएको हो।
मलेशियाकिनीमा अदालतबारे प्रकाशित समाचारमाथि पाठकले अदालत र न्यायाधीशमाथि अवहेलना हुनेगरी प्रतिक्रिया जनाएको भन्दै गानमाथि मुद्दा दायर गरिएको हो।
अदालतले राम्रोसँग काम नगरेको, न्यायाधीश पक्षपाती भएको र अदालतमा भ्रष्ट्राचार मौलाएको प्रतिक्रिया समाचारमा आएको थियो। प्रधान सम्पादक गानले उक्त प्रतिक्रिया आफ्नो पोर्टलबाट हटाइसकेको बताएका छन्।
अदालतले आफूमाथि मुद्दा दायर गरेपछि उनले प्रतिक्रिया दिंदै यो घटनाले मलेशियाकिनी मात्र नभई सामाजिक सञ्जाल प्रयोग गर्ने अन्य सञ्चारमाध्यम, प्रविधि सम्बन्धी काम गर्ने कम्पनी र लाखौँ मलेशियाबासीलाई प्रभाव पार्ने बताएका छन्।
‘प्रधानन्यायाधीशले एक जुलाईदेखि सबै अदालतलाई पूर्ण रुपमा चलाउने आदेश दिए’ भन्ने समाचारमाथि प्रतिक्रिया जनाइएका थिए । मलेशियाकिनीका प्रधानसम्पादक गानविरुद्धको सुनुवाइ बिहीबार विहान नौ बजेदेखि शुरु हुनेछ।
यदि, बिहीबार नै मलेशियाकिनी र गानले अदालतमाथि अवहेलना गरेको ठहरिए त्यसै दिन उनी विरुद्ध सजाय सुनाउने गरी तयारी भइरहेको छ।
यसअघि १५ जुनमा फिलिपिन्सका पत्रकार मारिया रेसामाथि पनि त्यहाँको अदालतले ‘साइबर लाइबल’को अभियोगमा कम्तीमा ६ महीनाका लागि जेल सजाय सुनाएको थियो।
फिलिपिन्सको अनलाइन पत्रिका र्प्यालरका कार्यकारी सम्पादक रेसाले अदालतको निर्णयपछि पत्रकार सम्मेलनमा बोल्दै र्याप्लरमाथि भएका घटनाले अन्य मिडियामा पनि प्रभाव पार्न सक्ने बताएकी थिइन्।