टिप्पणी बुधबार, असार १७, २०७७

फेयर एण्ड लभ्लीबाट ‘फेयर’ मात्र हटाएर पुग्दैन !

हिमालखबर

फेयर एण्ड लभ्लीबाट ‘फेयर’ मात्र हटाएर पुग्दैन !

'फेयर एण्ड लभ्ली' बाट 'फेयर' हटाउने युनिलिभरको कदम स्वागतयोग्य छ, तर दक्षिण एसियाली समाजमा अनुहारको वर्णको हकमा अन्यायपूर्ण झुकाव राख्ने सोचलाई जरैदेखि उखेलेर फ्याँक्न अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

सुभेक्षा प्रधान तुलाधर

२५ जूनमा बहुराष्ट्रिय कम्पनी युनिलिभरले आफ्नो विख्यात र सफल उत्पादन फेयर एण्ड लभ्लीबाट ‘फेयर’ झिकी पुन: ब्रान्डिङ गर्ने घोषणा गर्‍यो। 

यो अमेरिकामा आरम्भ भई संसारभर फैलिएको #BlackLivesMatter आन्दोलनले उत्प्रेरित गरेको आक्रोशको नतिजा हो।

फेयर एण्ड लभ्ली र यसको विज्ञापनले रङ्गभेद बढाएको भन्दै  १८,००० भन्दा बढीले हस्ताक्षरसहितका दुईवटा निवेदनमा बुझाएका थिए।   

युनिलिभर गोरो बनाउने दाबीसहितको आफ्नो क्रिम र क्रिम  बनाउने सामग्री परिवर्तन गर्ने मनस्थितिमा भने छैन । केवल नाममा ‘फेयर’ शब्द प्रयोग गर्न बन्द गर्नेछ । अनि, कालो रुपबाट गोरोरुपमा परिवर्तन देखाउने दुई-अनुहार तहको फोटो र भिडियो बन्द गर्नेछ।   

गोरो/सेतो रङको वर्णलाई आदर्श र सुन्दरताको अनुपम रुपमा देखाउने लामो इतिहास बोकेको युनिलिभरले सन् १९७५ मा फेयर एण्ड लभ्ली भारतीय बजारमा ल्याएको थियो । दशकौंदेखि करोडौं दक्षिण एसियाली महिलाको पहिलो रोजाइ फेयर एण्ड लभ्ली सन् २०१७ सम्म भारतीय फेयरनेस क्रिम उद्योगको झण्डै ७० प्रतिशतसम्म भाग ओगटेको थियो।  

फेयर एण्ड लभ्ली ब्रान्डको सफलताको कारण सफल प्रचारपसार अभियान हो जसले युरोप केन्द्रित आदर्श सौन्दर्यको परम्परागत सोंचाइलाई मलजल गर्छ, जसको जरा आन्तरिक जातिवाद र दक्षिण एसियाको रङ्गभेदमा गडेको छ। 

समाजशास्त्रीहरुका अनुसार, यसले गाढा रङको छाला भएका मानिसहरुमा लामो समय रहने हीनताबोध र भावनात्मक क्षयको सिर्जना गर्छ । त्यसकारण रङ्गभेदले एउटै जातिका भए पनि कालो वर्ण भएका मानिसहरुमा पूर्वाग्रह निम्त्याउँछ।

रङ्गभेद सानो उमेरबाट नै शुरु हुन्छ, जब आफन्तहरुले सुत्केरी भएको केही दिनमा नै नवजात शिशुको वर्ण सोध्ने गर्छन् । जब बच्चा ठूलो हुँदै जान्छ, उनीहरुको वर्णलाई पटक–पटक महत्व दिइएको पनि पत्तो पाउँछन्।  

स्कूलमा कालो वर्ण भएका साथीहरुलाई जिस्क्याइएको, होच्याइएको अनुभव धेरै दक्षिण एसियालीहरुले भोग्नुपर्दछ । काठमाडौं को एक स्कूलमा केजीमा पढ्दा नै मेरो नाम ‘काली कौवा’ राखिएको मलाई अहिले पनि सम्झना छ। 

जब बालबालिका ठूला हुन्छन्, उनीहरु विज्ञापन, टीभीका विज्ञापन र ठूलो होर्डिङ बोर्डमा रङ्गभेदलाई प्रचार गर्ने सूचनाहरुसँग साक्षात्कार हुन पुग्दछन् । यस्ता विभेदकारी कुरा फेयर एण्ड लभ्ली लेखिएको उत्पादनमै सीमित छन् भन्ने होइन । निभिया जस्ता उत्पादन जसको नाममा ‘फेयर’ छैन, यस्ता कम्पनीहरुले पनि गोरो वर्ण उपयुक्त र बढी आकर्षक हुन्छ भन्ने गलत सूचना प्रवाह गरिरहेका छन्।

जब उनीहरु विवाह गर्न योग्य हुन्छन्, पति-पत्नी छान्ने क्रममा पनि छालाको रङ मुख्य मापदण्ड बन्दछ- प्रायजसो महिलाको हकमा । हालैको विरोधपछि भारतको वैवाहिक सम्बन्ध कायम गर्न जोडा खोज्न मिल्ने Shaadi.com वेबसाइटले छालाको रङ अनुसार जोडा खोज्न मिल्ने सर्च फिल्टर हटाएको छ। 

अनलाइन जोडा खोज्ने वेबसाइटहरुमा त्यस्तो फिल्टरको अस्तित्वले नै दक्षिण एसियामा गडिएर रहेको रङ्गभेदलाई प्रष्ट दर्शाउँछ।

नेपालकी एक चर्चित सौन्दर्यविद्  सिर्जना प्रधानले हालै दिएको एक अन्तर्वार्तामा विवाहको सिजनका बेला छाला चम्काउनेहरु बढ्ने गरेका छन् । उनका अनुसार, उनको सीपी ब्युटी क्लबको मुख्य सेवा भनेको फेयरनेस फेस ट्रिटमेन्ट नै हो।   

रङ्गभेदको संवेदनशीलतालाई दक्षिण एसियाका चलचित्र उद्योगमा पनि खासै उठान गरेको पाइँदैन, सुपरहिट चलचित्रहरुमा प्राय: कालो वर्ण भएका कलाकारलाई खलनायकका रुपमा प्रस्तुत गरिन्छ, उता नायक तथा नायिका भने गोरो वर्णका हुन्छन्।  

बलिउका ठूला हस्तीहरु जस्तै शाहरुख खान र प्रियङ्का चोपडा समयसँगै गोरो हुँदै गएको देखिन्छ, कलाकारहरुले खुलेरै छाला गोरो बनाउने र अनुहार चम्काउने उत्पादनको प्रवर्द्धन गरेका छन् । शाहरुख खानले त पुरुष लक्षित फेयर एण्ड ह्याण्डसमका लागि मोडलिङ नै गरेका छन्।

नेपालको मनोरञ्जन उद्योग पनि छालाको रङसँग अभ्यस्त छ । गाढा रङ भएका पात्रलाई दशकौंदेखि हेपिरहेको छ । जस्तो कि, रेशम फिलिली चलचित्रको चर्चित गीत ‘जालमा’को एक हरफ नै छ- “घामले मलाई सताउला, काली मलाई बनाउला” । गीतमा अभिनेत्रीलाई कालो हुनुसँगको भय छ।

अर्को हिट गीत ‘पोइ पर्‍यो काले’ को गीतका हरफ पनि यस्तो छ “ए दिदी पोइ पर्‍यो काले… हुन देऊ बहिनी इज्जतै नफाले” – कालो वर्णको श्रीमान् परेको कुरामा महिला पात्रलाई पश्चात्ताप हुन्छ, जसलाई उसकी बहिनीले छोड्दे यस्तो सोच्न भनेर सम्झाउन खोज्छे । यस्तो अरु विभिन्न चलचित्रका दृश्य तथा म्युजिक भिडियोहरु छन् जसले कालो वर्णको हुनु परम्परागत रुपमा नराम्रो हो भन्ने भाव झल्काउँछ।   

कालो वर्णलाई सकारात्मक रुपमा देखाइएका पनि केही गीत नभएका होइनन् । तर, ती एकदमै थोरै छन् र विरलै कालो वर्णका मानिसलाई ती गीत मार्फत प्रेरणा मिल्दछ। बरु सहानुभूति दिन खोजिन्छ।

सम्पूर्ण मनोरञ्जन  उद्योग पनि कालो वर्णका समकक्षीहरु भन्दा गोरो वर्णकै प्रवर्द्धन गर्छ । सन् २०१७ मा जब निकिता चान्डकले मिस नेपालको ताज पहिरिन सफल भइन्, उनको कालो वर्णको सामाजिक सञ्जालमा खूब आलोचना भयो । उनी आक्रोशको शिकार भइन्।

यथास्थितिवादी यस्तो  सोचका कारण गोरो वर्ण भएका महिला अनावश्यक आकर्षणको केन्द्रमा पर्ने, उत्पीडनमा पर्ने, यौनिक हिंसा तथा बेचबिखनको शिकार हुने गरेको देखिन्छ । ‘ग्लोबल पर्सपेक्टिभ्स अन प्रोस्टिट्युसन एण्ड सेक्स ट्राफिकिङ’ पुस्तकका अनुसार गोरो वर्ण र आत्मविश्वास कम भएका नेपाली महिलाहरु भारतको यौन व्यवसायमा ग्राहकले रुचाउने गरेका छन्।

फेयर एण्ड लभ्लीलाई पुन: ब्रान्डिङ गर्ने युनिलिभरको कदम स्वागतयोग्य छ, तर दक्षिण एसियाली समाजमा गोरो वर्णमा अन्यायपूर्ण झुकाव राख्ने सोचलाई जरैदेखि उखेलेर फ्याँक्न अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस