कला/साहित्य आइतबार, असार १४, २०७७

बन्दाबन्दीले रोकिएको भुवन ढुंगानाको उपन्यास 'परित्यक्ता' बजारमा

हिमालखबर

बन्दाबन्दीले रोकिएको भुवन ढुंगानाको उपन्यास 'परित्यक्ता' बजारमा
भुवन ढुंगाना ।

बन्दाबन्दी खुकुलो भएसँगै नेपालयले भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’ लाई सीधै बजारमा उपलब्ध गराएर आफ्नो कामको थालनी गर्ने भएको छ।

बन्दाबन्दीपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाउने निर्णय गरेको छ । गएको अप्रिल महीनामा नेपालयले एक प्रेस विज्ञप्ति मार्फत माहामारीका कारण आफ्ना प्रकाशित पुस्तकहरू सार्वजनिक गर्ने कार्यक्रमहरू प्रभावित भएको जनाएको थियो।

बन्दाबन्दीको गाम्भीर्य सहजतातिर उन्मुख भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’ लाई सीधै बजारमा उपलब्ध गराएर आफ्नो कामको थालनी गर्ने भएको छ । "बन्दाबन्दीको कारण एक्लो बसाइले पाठकमा पढ्ने भोक बढेकोतर्फ विचार गर्दै लकडाउनपछिको पहिलो चरणमा हामीले परित्यक्ता पुस्तकलाई बजारमा पुर्‍याउने निर्णय गरेका छौं", पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन्। 

यो किताब गएको वर्ष नै प्रकाशित भएको भए पनि कोरोनाभाइरस महामारीका कारणले सार्वजनिक हुन नपाएको नेपालयले जनाएको छ । ‘परित्यक्ता’ एकालाप शैलीमा बाँधिएको कृति हो । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छेस समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने यत्न गर्नुपर्छ भन्नेतर्फ संकेत गर्छ।

गोरखापत्र संस्थानको मासिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । लेखक ढुंगानाले बन्दाबन्दीका कारण केही समय ढिलाइ भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुशी भएको बताएकी छन्।

पब्लिकेसन नेपालयकी सम्पादक भूषिता वशिष्ठले यो पुस्तकले नेपाली समाजमा व्याप्त पहिचान र लिङ्गका बारेमा विद्यमान तर्कको संवादमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरेकी छन् । "यो संक्षिप्त कृतिले अँगालेको गेयात्मक कथ्य शैलीले नेपाली साहित्यिक जगतलाई नौलोपनको अनुभूति प्रदान गर्नेछ", उनले भनेकी छन्।

नेपालयले केही दिनअघि ‘ई बूक’ मार्फत आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो । यसै सिलसिलालाई आकर्षक रुपमा अगाडि बढाउन सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ पुस्तकका दुई वटा अध्याय सार्वजनिक भइसकेका छन्।

ढुंगानाको पुस्तक देशका सबै पुस्तक पसलहरूमा उपलब्ध गराइएको छ र ‘थुप्रै' मार्फत ईबुक को रुपमा पनि प्राप्त गर्न सकिने नेपालयले जनाएको छ। साथै, अनलाइन बिक्रेता ‘अमेजन’ मार्फत संसारभरका पाठकले यो पुस्तक किन्न सक्नेछन्।

प्रतिकृया दिनुहोस