राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र नवनियुक्त श्रीलंकन राजदूतबीच शिष्टाचार भेट
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनातिलकाबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी, सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।
भेटमा अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत अरुनातिलकालाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नेपाल र श्रीलंकाबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै अध्यक्ष तिमिल्सिनाले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले थप सहयोग पुर्याउने बताए।
अध्यक्ष तिमिल्सिनाले सन् २०१८ मा नेपालमा भएको लगानी सम्मेलनमा श्रीलंका सरकारले गरेको प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्दै बढीभन्दा बढी श्रीलंकाली नागरिकलाई नेपालमा लगानी गर्न राजदूतबाट महत्वपूर्ण भूमिका रहने बताए।
राजदूत अरुनातिलकाले भेटका क्रममा नेपाल र श्रीलंकाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताउँदै आर्थिक सम्बन्धलाई पनि अगाडि बढाउन जरुरी रहेको बताइन्।