दस्तावेज शनिबार, असार ६, २०७७

अनि बन्दछ नयाँ नेपाल !

हिमालखबर

अनि बन्दछ नयाँ नेपाल !
अङ्गुरबाबा जोशी । तस्वीरः मदन पुरस्कार पुस्तकालय


सत्यमेव जयते नाहतम्
ॐ योन्तः प्रविस्य मम वाचमिमाम् प्रसुप्ताम्, संजीवयत्यखिल शक्ति धरस्य धाम्ना ।
अन्याश्चहस्तचरणश्रवणत्वगादीन्, प्राणान्नमो भगवते पुरुषाय तुभ्यम् ।
अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन सलाकया,
चक्षुरुन्मिलितं येन तस्मै श्री गुरवे नमः ।।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु माकश्चिद् दुःख भाग्जनः ।।

मदन पुरस्कार गुठीका आदरणीय अध्यक्ष श्री कमलमणि दीक्षितज्यू, गुठीका सबै आदरणीय सदस्यज्यूहरू, सभामा समुपस्थित प्रबुद्ध वरिष्ठ व्यक्तित्व तथा पत्रकार बन्धुहरू,

सर्वप्रथम त म जस्ती एउटी साधारण समाजसेवी महिलालाई २०७२ को जगदम्बाश्री जस्तो नेपालको सर्वोत्कृष्ट पुरस्कार दिएर सम्मानित गर्नुभएकोमा हृदयदेखि नै सम्पूर्ण मदन पुरस्कार गुठी परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । म आफूलाई भने मैले त्यस्तो विशेष केही गर्न सकेको जस्तो लाग्दैन । तैपनि यो पुरस्कारबाट सम्मान हुन पाउनु मेरो लागि गौरवको हुन आएको छ।

जीवनमा मलाई अन्य संस्थाहरूले पनि सम्मान, पुरस्कारहरू प्रदान गर्नुभएको छ । यस्तो पुरस्कार/सम्मानका रकमहरूको म उच्च मूल्याङ्कन गर्दछु । पवित्र रकम ठान्दछु । अतः यस्तो रकम आफ्नो व्यक्तिगत कुरामा खर्च गरेर यस्तो पवित्र रकमको अवमूल्यन गर्नु मलाई उचित लाग्दैन । त्यसैले सधैं मैले प्राप्त गरेको सम्मान/पुरस्कारका सबै रकमहरू कुनै न कुनै उपयुक्त समाजसेवी संस्थाहरूमा चढाउने गरेकी छु।

झन् ठूलो यो जगदम्बाश्री पुरस्कारको रकम मैले खर्च गर्ने त कुरै भएन । अतः यसको रकम मध्येबाट रु.१,००,००० (एक लाख) म नेपालको इतिहासमा सर्वप्रथम स्थापना भएको श्री गार्गी कन्या गुरुकुलको सेवामा अर्पण गर्दछु । अर्को रु.१ लाख अन्य सेवा कार्यहरूमा खर्च गर्नेछु । म स्वयंले यो पवित्र रकमको एक पैसा पनि खर्च गर्ने छैन भन्ने कुरा निवेदन गर्दै गुठी परिवारले यसलाई अन्यथा लिनुहुने छैन भन्ने विश्वास गर्दछु।

यो पुरस्कार/सम्मान मैले मेरो व्यक्तिगत सम्मान नभई मलाई सत्यनिष्ठा, धर्मनिष्ठा, सद्विचार, सदाचार, सद्व्यवहार, नैतिकबल, चारित्रिक शुद्धता, आध्यात्मिक चेतना, सेवाभाव र राष्ट्रभक्तिको सुसंस्कारबाट संस्कारित गर्ने मेरा पूज्य माता स्व. श्रीमती दीपकुमारी पन्त र पिता स्व.श्री पीताम्बर प्रसाद पन्तको र यो सुसंस्कारलाई मलजल दिएर जीवनमा मेरो प्रत्येक सेवा कार्यमा सक्रिय सहयोग गरिबक्सने मेरा मार्गदर्शक अत्यन्त प्यारा पतिदेव स्व. श्री प्राध्यापक डा.बलराम जोशीको मात्र होइन, मलाई जीवनभर यो सद्मार्गमा हिंड्न, बोल्न र लेख्न सधैं प्रेरणा बक्सने मेरा पूज्य गुरुदेव श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती खप्तडबाबा लगायत अन्य सबै गुरुहरूको सम्मानको रूपमा ग्रहण गरेकी छु।

हाम्रो नीतिशास्त्र भन्दछः “न सा समाः यत्र न शान्ति वृद्धाः, वृद्धा न ते ये नवदन्ति धर्मः ।” आजको यो सभारोहमा वृद्ध वृद्धाहरू हामी थुप्रै छौं । अतः यो सभा भव्य बन्न पुगेको छ । बोल्ने म वृद्धा परें । अब मैले धर्ममा केही बोल्नु नै पर्ने हुन्छ । हजुरहरू सबैलाई ज्ञात भएकै कुरा हो कि धर्म त्यो आधारभूत तत्व हो जसले मानिसमा मनुष्यत्व भर्दछ । मानवत्व भर्दछ । अनि दानवत्वमा खस्नबाट रोक्छ।

यति मात्र होइन, विश्वव्यापी रूपमा मानव जीवनको सर्वोत्तम सर्वोपरि लक्ष्य दुःख, अशान्तिबाट निवृत्त भई सुख–शान्ति प्राप्त गर्नु नै हो । पद, पैसा, बराबर पुरस्कार, प्रतिष्ठा, पेशा आदि सब साधन मात्र हुन्, साध्य होइनन् । साधनलाई साध्य सम्झिएकाले दुःख, अशान्ति तनावहरू हात पर्छन् । त्यसैले भनिएको होः “सुखाय कर्माणि करोति लोके ।” अर्थात् संसारभरिका मानिस जसले जे गर्छन् त्यो वास्तवमा सुख पाउन नै गर्छन् । धर्मले हाम्रो यही सुख–शान्ति प्राप्त गर्ने क्षमता अभिवृद्धि गर्दछ । हामीलाई सुख–शान्तिको अनुभूति गर्न सक्ने पात्रता प्रदान गर्दछ।

‘धर्म’ शब्द अंग्रेजीका विभिन्न मत, पन्थ वा सम्प्रदाय जनाउने ‘रेलिजन’ शब्दको पर्यायवाची शब्द होइन । धर्म त सबै सम्प्रदायहरूले साझा रूपमा मानिआएको सनातन शाश्वत मानवमूल्य र मान्यताका निर्देशक सिद्धान्तहरू हुन्।

“धृतिक्षमादमोस्तेय शौमिन्द्रियनिग्रह ।
धीर्विद्यासत्यमक्रोध दशकं धर्म लक्षणम् ।।”

धैर्य, क्षमाशीलता, आत्मसंयम, नचोर्नु, शरीर, मन, वचन र कर्ममा पवित्रता, इन्द्रियको संयम, विवेकयुक्त वृद्धि, भौतिक र आध्यात्मिक ज्ञान, सत्यनिष्ठा र नरिसाउनुः धर्मका यी दशवटा लक्षणहरू बताइएका छन् । यो सनातन शाश्वत मानवीय मूल्य–मान्यताहरूलाई सबै मत, पन्थ र सम्प्रदायले साझ रूपमा मानिआएको सर्वविदितै छ।

यस्तो वास्तविक स्थिति हुँदाहुँदै पनि हाम्रो नयाँ संविधानमा ‘धर्मनिरपेक्ष’ भन्ने शब्द प्रयोग भएकोमा म र मलाई विश्वास छ, म जस्ता धेरै नेपालीको चित्तदुखाइ छ । मलाई थाहा छ, यो सन्देश बोकेर पास गराउने नेताज्यूहरूले हामी नेपाली अब मानवताविहीन दानव बने पनि हुन्छ भन्न खोज्नुभएको होइन । हुनै सक्दैन । तर राजनेता भएपछि शब्दको सही अर्थ राम्रोसँग बुझने कष्टसम्म पनि नगरेर लहैलहैमा लागेर यो शब्द नयाँ संविधानमा जुन पर्न गएको छ त्यो एक दिन अवश्य पनि संशोधन हुनेछ । हुनै पर्छ।

राष्ट्रको धर्म हुँदैन भन्ने चर्चा खूब सुनियो । किन हुँदैन राष्ट्रको धर्म ? नागरिकको जीउधनको रक्षा गर्नु राष्ट्रको राजधर्म होइन ? प्रत्येक नागरिकको आधारभूत आवश्यकताहरू पूरा गर्नु राजधर्म होइन ? अपराधीहरूलाई दण्डसजाय गर्नु राजधर्म होइन ? इत्यादि, इत्यादि । मनमा सारै नै उकुसमुकुस भएकाले यहाँ संक्षेपमा यति उद्गार व्यक्त नगरी सकिनँ । कसैलाई असान्दर्भिक टिप्पणी लागेको भए क्षमाप्रार्थी छु।

मेरो दृष्टिमा धर्म जुन वेला जहाँ पनि सान्दर्भिक तत्व हो । किनभने ‘धर्मो विश्वस्य जगतः प्रतिष्ठाः ।’ धर्म सारा विश्वको आधार हो । ‘धारणाद् धर्म इत्याहु धर्मो धारयते प्रजाः ।’ जुन तत्वले व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वलाई धारण गर्दछ, त्यही तत्व धर्म हो । ‘आहारनिद्राभयमैथुनश्च सामान्यमेतत् पशुभिर्नराणाम् । धर्मोहि तेषामधिको विशेषो धर्मेण हीना पशुभिः समानाः।”

अर्थात् भोजन, निद्रा, जीवनरक्षाको भय र मैथुन क्रिया कीरा, फट्याङ्ग्रा, जीव, जन्तु र मानिस सबैमा व्याप्त क्रियाहरू हुन्। अरूभन्दा श्रेष्ठ जीव मानिसको विशेषता भन्नु नै धर्मको परिपालन हो । धर्मविनाको मान्छे त पशु समान भनिएको छ । ‘मनुष्य रुपेण मृगाश्चरन्ति ।’ आकारमा मान्छे भए पनि ऊ पशुत्व बुद्धि लिएर बाँचेको हुन्छ । मानवीय गुण–धर्मको यो व्यापकता र अत्यावश्यकतालाई अवमूल्यन गर्नु अन्ततोगत्वा राष्ट्रघाती हुन जान्छ।

२०७१ सालको मदन पुरस्कार र जगदम्बा–श्री सम्मान अर्पण कार्यक्रमका अवसरमा दायाँबाट क्रमशः कमलमणि दीक्षित, अङ्गुरबाबा जोशी र विजयकुमार । तस्वीरः मदन पुरस्कार पुस्तकालय

नयाँ नेपालको चर्चा पनि खूब सुनिन्छ । नयाँ पुल, नयाँ बाटो, नयाँ भवन बनाएर मात्र नयाँ नेपाल बन्दैन । नयाँ नेपाललाई बनाउन नयाँ स्फूर्ति, नयाँ सोच, उच्च गुणवत्तायुक्त युवावर्गमा नयाँ जोश, जाँगर र उल्लास चाहिन्छ । नेपाली बालबालिका र युवावर्गमा जीवनोपयोगी गुणात्मक शिक्षाको साथै सबै मत, पन्थ र सम्प्रदायहरूले साझा रूपमा मानिआएका सनातन शाश्वत मानव मूल्य र मान्यतामा आधारित मानवजीवका निर्देशक सिद्धान्तको सही दीक्षाबाट उत्प्रेरित विवेकयुक्त बुद्धि चाहिन्छ । बौद्धिक गुणवत्ता मात्र होइन, भावात्मक गुणवत्ता एवं आध्यात्मिक गुणवत्ता पनि चाहिन्छ । बालबालिका एवं युवा वर्गको सशक्तीकरणको लागि उनीहरूको शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक जीवनका यी चारै तहमा सन्तुलित र समानान्तर चौतर्फी विकास चाहिन्छ।

हाम्रो प्रयास मूलतः सुख–शान्ति प्राप्त गर्नु भन्दा पनि हामीले नै हाम्रो आफ्नो अज्ञानका कारणले सृष्टि गरेका दुःख, अज्ञान, अशान्तिबाट मुक्त हुनु पो रहेछ । आखिर सुख र दुःख भनेको के रहेछ र ? हाम्रो भित्रको एउटा भावना त रहेछ नि ! सकारात्मक सोचले सकारात्मक भावनाको सृष्टि गर्दोरहेछ र हामीलाई सुखानुभूति हुने रहेछ । नकारात्मक विचार गर्‍यो भने, हाम्रो भावना पनि नकारात्मक हुँदोरहेछ र हामी दुःखानुभूति गर्दा रहेछौं।

यसरी चौतर्फी व्यक्तित्व विकासको संवाहक सही शिक्षा र सही दीक्षाबाट सुसञ्जित युवावर्ग नै पछि सुयोग्य, सक्षम, नैतिक, सच्चरित्रवान, सत्यनिष्ठ, कर्तव्यनिष्ठ राष्ट्रभक्त सेवामुखी नागरिक बन्न सक्दछन् । अनि यस्तै चौतर्फी सशक्त उत्साही नागरिक नै आफू, आफ्नो परिवार, समाज र राष्ट्रको लागि वरदान हुन्छ । भ्रष्टाचार, अन्याय, अत्याचार, पक्षपात विरोधी सुयोग्य जनमुखी राजनेता र इमानदार कर्मठ राष्ट्रसेवक, नैतिक व्यापारी र उद्योगपति एवं समर्पित समाजसेवी बन्दछ । अनि बन्दछ नयाँ नेपाल, नयाँ उत्साह, नयाँ उमङ्ग, नयाँ जोश र जाँगर भएको नयाँ नेपाल !

जबसम्म व्यक्ति राम्रो बन्दैन, तबसम्म राष्ट्र सुख, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्दैन भन्ने कुरा सर्वविदितै छ । त्यसैले भनिएको होला: ‘सारा विश्व बनाउने मन भए आफू बने पुग्दछ।’

गत वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको छायाँ अझै बाँकी भएकोले आज उक्त भूकम्पमा जीवन गुमाउनुभएका दाजुभाइ, दिदीबहिनी र बालबालिकाहरूको आत्माको चिरशान्तिको लागि परमात्मासँग हार्दिक प्रार्थना गर्दै सम्बन्धित परिवारहरूप्रति समवेदना पनि प्रकट गर्न चाहन्छु । साथै जो अलपत्र, असहाय एवं अपाङ्ग हुनुभएको छ, उहाँहरूप्रति पनि सहानुभूति व्यक्त गर्दै अब राष्ट्रको पहिलो दायित्व भनेको नै यस्ता व्यक्तित्वहरूको पुनर्स्थापनाको साथै व्यापक पुनर्निर्माण र सबै बालबालिकाको तथा युवा वर्गको चौतर्फी व्यक्तित्व विकास नै हो भन्नु अत्युक्ति हुने छैन।

अन्त्यमा चौरासी पुगेर पचासीको खुड्किलो टेकिसकेकी व्यक्तिको नाताले आफ्नो अनुभवको आधारमा केही नम्र निवेदन गर्न चाहन्छु । हामी मनुष्य ईश्वरका अंश हौं । ‘ईश्वर अंश जीव अविनाशी; चेतन विमल सहज सुखरासी ।’ हामी नैसर्गिक रूपमा शान्त, सुखी, चेतनशील, दैवी ऊर्जाले सम्पन्न व्यक्तित्वहरू हौं । शान्ति र सुख त हाम्रो अविभाज्य अंग हो।

हाम्रो प्रयास मूलतः सुख–शान्ति प्राप्त गर्नु भन्दा पनि हामीले नै हाम्रो आफ्नो अज्ञानका कारणले सृष्टि गरेका दुःख, अज्ञान, अशान्तिबाट मुक्त हुनु पो रहेछ । आखिर सुख र दुःख भनेको के रहेछ र ? हाम्रो भित्रको एउटा भावना त रहेछ नि ! सकारात्मक सोचले सकारात्मक भावनाको सृष्टि गर्दोरहेछ र हामीलाई सुखानुभूति हुने रहेछ । नकारात्मक विचार गर्‍यो भने, हाम्रो भावना पनि नकारात्मक हुँदोरहेछ र हामी दुःखानुभूति गर्दा रहेछौं।

यसबाट के प्रष्ट हुन्छ भने हाम्रो सुख र दुःखको कारण अन्ततोगत्वा हामी स्वयं आफैं नै रहेछौं । त्यसैले भनिएको रहेछः ‘सुखस्य दुःखस्य न कोपि दाता, परोवदातीति कुबुद्धिरेषा ।’ सुख र दुःख अरू कसैले कसैलाई दिने तत्व नै रहेनछ । त्यसैले भगवान श्रीकृष्णले गीतामा मर्जी भएको रहेछः

“उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैवह्यात्मनोवन्धुरात्मैवरिपुरात्मनः ।।”

उहाँ मर्जी हुन्छः तिमी आफूले आफैंलाई उठाऊ; तल खस्न नदेऊ; किनभने तिम्रो सबैभन्दा ठूलो मित्र पनि तिमी आफैं हौ र तिम्रो सबभन्दा ठूलो शत्रु पनि तिमी आफैं हौ।

हामीले आफ्नो जीवनको कत्रो समय अरूबाट सुख पाउने इच्छा र आशाबाट बितायौं । छोराछोरीले आमाबाबुलाई सुख दिने होइन रहेछ । बुहारीले सासूलाई सुख दिने पनि त होइन रहेछ । त्यसैले मृगमरीचिकाको भुमरीमा हामी भुलिरहेका रहेछौं । जीवनको यो वास्तविक तत्व बुझेपछि र त्यो सत्यसँग आत्मसात् गरेपछि, जीवन यति हलुका, यति शान्त र यति निश्चिन्त हुँदोरहेछ कि यसको अनुभूत गर्ने हजुरहरूले बुझ्नुभएकै छ।

यसमा थप धर्मका लक्षणहरूको परिचालन गर्ने अभ्यास, अनि नियमित योग, ध्यान गरेपछि आफ्ना मार्गदर्शक गुरुहरूको कृपा प्रसादबाट करुणामूर्ति परमात्मा प्रभूमा शरण परेर सबै उहाँको पाउमा अर्पण गरी ‘जाहे विधि राखे राम, ताहे विधि रहिए’ भनेर ढुक्क भएर बसेपछि शान्ति नै शान्ति, सुखैसुख हुँदोरहेछ । सर्वप्रथम हामीले हाम्रो मनमा नकारात्मक सोच आउन दिनुभएन । सकारात्मक विचार र चिन्तन मात्र गर्नुपर्‍यो । यसको निमित्त हामी सदा आफ्नो मनको गुणवत्तातर्फ सजग र सचेत रहनुपर्‍यो।

हामीले आफ्नो जीवनको कत्रो समय अरूबाट सुख पाउने इच्छा र आशाबाट वितायौं । छोराछोरीले आमाबाबुलाई सुख दिने होइन रहेछ । बुहारीले सासूलाई सुख दिने पनि त होइन रहेछ । त्यसैले मृगमरीचिकाको भुमरीमा हामी भुलिरहेका रहेछौं। 

हामीले दुःखानुभूति गर्ने कुराहरूमध्ये आफू भन्दा ‘माथिल्लो’ वर्गसँग आफैंलाई तुलना गर्ने, अरूले के भन्ला भन्ने चिन्ता गरेर अरूको प्रशंसाको आशा राख्ने, कसैले केही नकारात्मक टिप्पणी गरे भने नमीठो मान्ने, भोलि के होला कसो होला भनेर भविष्यको चिन्ता गर्ने आदि पनि हुन् । तर यसो विचार गर्ने हो भने त्यो सबै बेकार रहेछन्।

सृजनशील परमात्माको सृष्टिमा हामी प्रत्येक व्यक्ति अद्वितीय छौं । कसैसँग दाँजिनु नै हुँदैन । ‘आशा हि परमं दुःखं नैरास्यं परमं सुखम् !’ अरूबाट आशा गर्नु दुःख निम्त्याउनु मात्र हो । कसैले नकारात्मक टिप्पणी गरेमा धर्मले देखाएको क्षमाशीलताको गुण अपनायो भने आलोचक बन्धुहरूप्रति कृतज्ञ नै हुनुपर्दछ । उहाँहरूले घुमाउरो तरिकाले हामीलाई सशक्तीकरण पो गराइरहनुभएको रहेछ त । यसरी जीवनको विश्लेषण गर्न सकेमा सुखै–सुख, शान्ति–शान्ति । अहिलेको जीवन सन्ध्यामा जति सुख, शान्ति र आनन्दको अनुभूति कहिल्यै भएको थिएन मलाई । त्यसैले ‘वृद्धावस्था जीवनको श्रीपेच’ भन्ने लेख पनि लेखेकी छु।

आज मेरो जीवनमा थप सानो इतिहास पनि बनेको छ । सन् १९४८ मा मेरो दुलाहा स्व.श्री प्रा.डा.बलराम जोशी र म नेपालको इतिहासमा सँगै एस.एल.सी. परीक्षा दिने पहिलो दम्पती बनेका थियौं । सन् १९५७ मा समुद्र पार उच्च अध्ययन गर्न जाने पनि हामी पहिलो दम्पती थियौं । समुद्रपार अध्ययन गर्न जाने पहिलो महिला पनि म नै थिएँ।

अब आज मेरा पतिदेवलाई मदन पुरस्कार गुठीले मदन पुरस्कारबाट सम्मानित गरेको थियो भने उहाँकी अर्धाङ्गिनी मलाई आज जगदम्बाश्री पुरस्कारबाट सम्मानित गरिएको छ । यसमा मलाई अत्यन्त प्रशन्नता छ।

मेरो प्रस्तुति अलि लामो हुन गएकोमा क्षमाप्रार्थी छु । मौकामा यति निवेदन गर्न मन लाग्यो । के गरूँ ? मेरो सम्पूर्ण जीवन निस्वार्थ समाजसेवामा समर्पित छः शिक्षासेवा होस् वा नेपाली भाषा र साहित्यको सेवा होस् वा दीन–दुःखीहरूको गर्जो टार्ने सेवा होस् । यसको निमित्त यहाँहरूले जगदम्बाश्री पुरस्कार मलाई प्रदान गर्नुभएकोमा आफूमा एकमुठी सास रहेसम्म यस्तो सेवा निरन्तर गरिरहन मलाई झन् ठूलो प्रेरणा मिलेको कुरा व्यक्त गर्दै पुनः धन्यवाद दिन चाहन्छु । साथै २०७२ को मदन पुरस्कारबाट सम्मानित हुनुभएका मेरा प्यारा सहयोगी भाइ श्री विजयबाबुलाई हार्दिक बधाई दिन चाहन्छु । धन्यवाद।

ॐ शान्तिः शान्तिः शान्तिः

(२०७१ सालको जगदम्बा–श्री पुरस्कारबाट सम्मानित अङ्गुरबाबा जोशीले पुरस्कार अर्पण समारोहमा दिएको मन्तव्य। स्रोतः मदन पुरस्कार पुस्तकालय)  

प्रतिकृया दिनुहोस