प्रतिनिधिसभाबाट विधेयक पास भएपछि भारतको प्रतिक्रिया: वार्ता गर्ने समझदारी उल्लंघन भयो
नेपालले प्रतिनिधिसभाबाट संविधान (दोस्रो) संशाेधन विधेयक पारित गरेसँगै भारतले वार्ता गर्ने समझदारी उल्लंघन भएको प्रतिक्रिया दिएको छ।
शनिबार प्रतिनिधिसभाबाट दुईतिहाइ भन्दा बढी मतले नेपालको नक्शा परिवर्तन सम्बन्धी संविधान संशाेधन विधेयक पारित भएपछि भारतले यस्तो प्रतिक्रिया जनाएको हो।
"हामीले नेपालको प्रतिनिधिसभाबाट भारतीय भूमि राखेर बनाइएको नयाँ नक्शा परिवर्तन सम्बन्धी संविधान संशोधन विधेयक पारित भएको ख्याल गरेका छौं । यस विषयमा हामीले पहिले नै धारणा प्रष्ट पारिसकेका छौं," भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दिएको प्रतिक्रियामा भनिएको छ, "यस्तो बनावटी विस्तारको कुनै ऐतिहासिक तथ्य र आधारहरू छैनन्, न त यस्तो हुने सम्भावना नै छ । साथै यसले हाम्रो सीमा विवाद सम्बन्धी तत्काल वार्ता गर्नका लागि बनेको समझदारीको पनि उल्लंघन गरेको छ।"