अवैध रुपमा स्यानिटाइजर तथा कस्मेटिक सामान बनाएर कालोबजारी तथा ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ खुसिबु बस्ने भारत बनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं महानगरपालिका-१४ कलंकी ठेगाना भएका ३३ वर्षीय प्रदिप उपाध्याय लुइँटेल रहेका छन् ।
काठमाडौं महानगरपालिका-१६ नयाँबजार खुसिबुमा अवैध रुपमा गुणस्तरहीन मानव स्वास्थ्यमा असर पर्ने ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक मालसामानहरू तयार गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।
महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरूले बजारमा अत्यधिक माग भएका ह्यान्ड स्यानिटाइजरलगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री बितरण गर्न तयार पारी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको थियो।
साथै उनीहरूले विभिन्न प्रख्यात ब्राण्डहरू डिफेन्स लुकअप, ब्रोदर ब्रुउक्स, रुबिया ह्यान्ड वास, बिई वन एडभान्स, जेमिनि ह्यान्ड वास, गिलिसिरिन मेगेनटा, लगायतका स्टिकरहरू आफैले छपाई गरी खाली बोतलहरूमा लेभलिङ तथा महंगो मूल्यसमेत राखी दुरुस्त सक्कली ब्राण्ड जस्तै बनाई बजारमा अवैध रुपमा बिक्री बितरण गर्ने गरेको खुल्न आएको छ।
साथै, उनीहरूले कोभिड-१९ जस्तो महामारीबाट बच्न प्रयोग गरिने स्यानिटाइजर, विभिन्न ब्राण्डका स्याम्पु र विभिन्न ब्राण्डका नक्कली फेस क्रिम र नक्कली कस्मेटिक सामानहरू समेत उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
उनीहरूका साथबाट विभिन्न साइजका प्लाष्टिकका ग्यालेन तथा ड्रममा राखेको स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३ हजार २ सय ९० लिटर, स्किमर्स लेखिएको तयारी स्यानिटाइजर ५ सय एमएलका ८ बोतल, तयारी स्यानिटाइजर ५ लिटरको ग्यालेन २६ थान, १ सय एमएलको प्लाष्टिकको बोतलमा राखेको तयारी स्यानिटाइजर १ सय ९५ थान, रुबिया ह्यान्डवास लेखिएको १ सय ४० एमएलको बोतल १ सय ७२ थान, बीई वन एडभान्स लेखिएको २ सय ५० एमएलको बोतल १३ थान र ब्रान्ड नखुलेको सानो बोतल ३० थान समेत प्रहरीले बरामद गरेको छ।
साथै गिलिसिरिन, डिफेन्स लुक अप, बिई वन जिमिनि समेत लेखिएका तयारी स्यानिटाइजरमा टाँस्ने स्टिकरहरु १ झोला, मसी भएको १ सय एमएलका बोतल ८ थान, ठण्डा अल्को सुपर लेखिएको १ लिटरको बोतल ५ थान, एलसिडी १ थान, सिपियु १ थान, रंगिन प्रिन्टर १ थान, सेतो रङको बट्टामा ५ सय एमएल लेखिएको बट्टा ३० थान, केसमरी गुलाब रस १ सय एमएल लेखिएको भरी बट्टा ८० थान, स्याम्पु ५ सय एमएल लेखिएको १८ थान, बिभिन्न कस्मेटिक सामानको स्टिकर रहेको कार्टुन ५ थान, ट्याग लगाउने मेसिन १ थान, बिभिन्न छापहरु ६ थान, ६ सय एमएल लेखिएको भरी बट्टा २३ थान, विभिन्न कस्मेटिक सामानका कुनै खाली र कुनै भरिएका बट्टाहरू रहेको कार्टुन ४ थान, सिल्भर पत्ता ६ थान र तौल गर्ने डिजिटल मेसिन १ थान समेत प्रहरीले बरामद गरेको छ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।