समाचार शनिबार, जेठ २४, २०७७

वनबासाबाट ४५ जनासँगै आएका थिए मुगुका कोरोना संक्रमित

हिमालखबर

वनबासाबाट ४५ जनासँगै आएका थिए मुगुका कोरोना संक्रमित

अच्युत राज भण्डारी, मुगु 

बिहीबार भेटिएका मुगुका पहिलो कोरोना संक्रमित २७ वर्षीय युवा गएको ६ जेठमा ४५ जनासँगै महेन्द्रनगरको वनबासा नाकाबाट नेपाल प्रवेश गरेको खुलेको छ।

उनीहरू भारतबाट ६ जेठमा महेन्द्रनगर प्रवेश गरेपछि त्यहाँको एक विद्यालयमा बसेका थिए । उनीसँग आएका सबैको आरडीटी परीक्षण रिपाेर्ट नेगेटिभ आएपछि ७ जेठमा मुगु हिँडेका थिए।

सोही दिन राति १२ बजे उनीहरूले बाँकेको चिसापानी पुगेर खाजा खाएका थिए । त्यसपछि उनीहरू ८ जेठको साँझ मुगुको खत्याड गाउँपालिका पुगेको थिए। गाउँ पुगेपछि उनीहरूलाई गाउँपालिकाको वडा नं ५ हलेखाडा पाटनमा स्थापना गरेको क्वारेन्टिनमा राखिएको थियो।

रातापानी प्राथमिक केन्द्रका प्रमुख डाक्टर किशोर खड्काका अनुसार उनीसँग आएका ४१ जना क्वारेन्टिनमा बसेका र सोरु गाउँपालिकाका बाँकी ५ जना आफ्नो घर गएका थिए । क्वारेन्टिनमा बसेका ४१ जनासँगै पछि थप ७ जनालाई पनि राखिएको थियो। 

उता सोरु गाउँपालिका गएका ५ जनालाई सोही गाउँपालिकाले क्वारेन्टिनमा राखेको प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले हिमाललाई बताए ।

गाउँपालिकाले उनीहरूलाई घर नपुग्दै सीधै क्वारेन्टिनमा राखेको र क्वारेन्टिन गाउँभन्दा धेरै टाढाको लेकमा रहेकाले अरूमा कोरोना संक्रमणकाे सम्भावना नरहेको दाबी खत्याड गाउँपालिकाका स्वास्थ्य शाखा उप–संयोजक हरि बुढाको छ।

संक्रमित युवालाई बिहीबार नै गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसनमा राखिएको छ । युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

युवासँगै क्वारेन्टिनमा बसेका अन्य ४७ जना र सोरुको क्वारेन्टिनमा रहेका ५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए।

जिल्लाभर रहेका ३४ वटा क्वारेन्टिनमा बिहीबारसम्म ५२२ जना रहेको र त्यसमध्ये ४०७ जनाको स्वाब पीसीआर परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

प्रतिकृया दिनुहोस