आज विश्व वातावरण दिवस, भर्चुअल संवाद गरेर मनाइँदै
आज ५ जून । विश्व वातावरण दिवस । विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइने गरे पनि यस वर्ष औपचारिक कार्यक्रम प्रभावित भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल गरी विश्व वातावरण दिवस मनाइँदैछ । विभिन्न संघसंस्थाले भर्चुअल छलफल कार्यक्रम आयोजना गरेका छन् । नेपालमा पनि अनौपचारिक रुपमा आयोजना गरिएका भर्चुअल छलफल मार्फत दिवस मनाइदै छ ।
यस वर्षको विश्व वातावरण दिवसको नारा “सुरक्षित जीवनका लागि जैविक विविधता” रहेको छ । पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।