पाकिस्तानमा कोरोना संक्रमण बढ्दै, 'फेरि बन्दाबन्दी नगरिने'
कोरोनाभाइरस संक्रमण बढी फैलिएका मुलुकहरुमध्ये १८औं स्थानमा रहेको पाकिस्तानमा नयाँ संक्रमित थपिने क्रम जारी छ। सोमबारसम्ममा त्यहाँ संक्रमितको संख्या ७२ हजार ४६० पुगेको छ। जसमध्ये २ हजार ९६४ संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन्।
कुल संक्रमितमध्ये २६ हजार ८३ जना निको भएका छन् भने हालसम्म १ हजार ५४३ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ६९ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो।
पाकिस्तानको सिन्ध र पञ्जाब प्रान्त महामारीबाट बढी प्रभावित छन्। सिन्ध प्रान्तमा हालसम्म २८ हजारभन्दा बढी र पञ्जावमा करीब २६ हजार संक्रमित भेटिइसकेका छन्। यस्तै, राजधानी इस्लामाबादमा २ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको छ।
रमजानपछि पाकिस्तानमा तीव्र रुपमा संक्रमण फैलिन थालेपछि महामारी विरुद्ध लड्ने उपायबारे छलफल गर्न प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा सोमबार नेशनल कोअर्डिनेशन कमिटीको बैठक बस्दैछ।
यद्यपि सरकारले लकडाउन (बन्दाबन्दी) फेरि लागू नगर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
पाकिस्तानका विशेषज्ञहरुका अनुसार, त्यहाँ महामारी उच्च बिन्दुमा पुग्न अझै बाँकी नै छ। भाइरसको संक्रमण उच्च बिन्दुमा पुगेपछि संक्रमित व्यक्तिको संख्या अहिलेभन्दा दोब्बर हुन सक्ने अनुमान गरिएको छ। - एजेन्सी